काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अझै जारी छ । मंसिर २४-२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् । बिहीबार सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने पौडेलले बताए । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
मंसिर २४ देखि २७ सम्म भएको महाधिवेशनको सम्पूर्ण मतपरिणाम अझै सार्वजनिक भएको छैन । १३४ पदका लागि भएको निर्वाचनमा पाँच सय भन्दा बढी उम्मेदवार थिए ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार साँझसम्म पदाधिकारी, खुला ३५ केन्द्रीय सदस्य, महिला खुला, भूगोलको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै अपांगता भएका, अल्पसंख्यक, पिछडिएको क्षेत्र, मधेशी, थारु र मुस्लिम गरी ९७ पदको मतपरिणाम सार्वजनिक भएको हो ।
केन्द्रीय सदस्यमा दलित, आदिवासी जनजाती र खसआर्य गरी ३७ पदको मतगणना जारी छ । मंसिर २७ गते मतदान सकिएपछि सोही राति सभापति पदको मतगणना भएको थियो । पहिलो चरणमा सभापति पदमा बहुमत नआएपछि मंसिर २८ गते दोस्रो चरणको मतदान भएको थियो ।दोस्रो चरणबाट सभापति पदमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि विजयी भएका थिए । दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा भएको थियो ।
पहिलो चरणमा देउवा, कोइरालासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङबीच सभापति पदमा निर्वाचन भएको थियो ।मंसिर २८ गतेको राति नै सभापति पदको मतगणना सकिएपछि दोस्रो दिनदेखि अन्य पदाधिकारी पदको मतगणना भएको थियो । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार संस्थापन समूह निकै बलियो अवस्थामा देखिएको छ । १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको हो । पदाधिकारीसहित केन्द्रीय सदस्य गरी देउवा समूहका ७७ जना विजयी भएका छन् भने इतर समूहबाट १९ जना निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित डा. शशांक कोइराला साझा उम्मेदवार थिए ।
संस्थापन इतर समूहबाट निर्वाचित १९ मध्ये समूहबाट १७ जना कोइराला समूह निकट हुन् भने महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार सिंह समूहका हुन् । बागमतीबाट केन्द्रीय सदस्य निर्वाचित राजेन्द्र केसी (राजन) कोइराला र सिंह दुबै समूहका उम्मेदवार थिए ।
पदाधिकारीमा दुई उपसभापतिमध्ये एक र महामन्त्रीमा दुबै पद गुमाएको संस्थापन समूहले आठ सहमहामन्त्रीमध्ये ६ वटामा विजयी भएको थियो ।त्यस्तै खुला ३५ केन्द्रीय सदस्यमा देउवा समूहले २५ सिटमा जित हासिल गरेको छ । महिलातर्फ नौ मध्ये ८ सिटमा संस्थापन समूह नै विजयी भएको हो । भूगोल (सात वटै प्रदेश) बाट एक महिलासहित तीन जना गरी २१ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा संस्थापन समूहबाट १८ जना निर्वाचित भएका छन् ।
कोइराला समूहबाट प्रदेश एकबाट राजीव कोइराला विजयी भए भने गण्डकीबाट कृष्णचन्द्र नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै बागमतीबाट निर्वाचित राजेन्द्रकुमार केसी (राजन) प्रकाशमान सिंह र कोइरालाको प्यानलमा थिए ।मुस्लिमतर्फ एक महिलासहित तीन सिटका लागि भएको निर्वाचनमा सबै उम्मेदवारी संस्थापन समूहका विजयी भएका छन् । त्यस्तै थारुतर्फ दुई महिलासहित चार सिटमा संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् ।
अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगताबाट पनि केन्द्रीय सदस्यमा देउवा समूहका उम्मेदवार विजयी भएका छन् ।मधेशी खुलातर्फ पाँच सिटमध्ये संस्थापन समूहबाट चार जना विजयी भएका छन् भने मधेशी महिलामा चार सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहले जित हासिल गरेको छ । मधेशी महिलातर्फ विजयी मुक्ताकुमारी यादव संस्थापन र कोइराला दुबै समूहको उम्मेदवारको सूचीमा परेकी थिइन् ।मतपरिणाम सार्वजनिक हुन बाँकीमा संस्थापन समूहकै उम्मेदवारको अग्रता छ ।

















