हेटौंडा । सत्ता बाहिर हुँदा सबै दलले खोइरो खन्ने सरकारकै हो । तर, आफू सत्तामा पुगेपछि फेरि गर्ने त्यहीँ सरकारकै सिको हो । यो परिपाटी अहिले ठ्याक्कै यहाँ लागू भएको छ ।कुरा हो, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डको । एमालेबाट छुट्टिएपछि नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेर सरकारमा जानुअघि पाण्डेले थुप्रै आश्वासन दिए ।

गठबन्धनबाट मुख्यमन्त्री बन्नुअघि उनले प्रदेशमा सुशासन र समृद्धिको जरो गाँड्ने बचन व्यक्त गरे । तर, मुख्यमन्त्री बनेको केही समयमै उनले प्रदेशमा थप आर्थिक भार थुपारे ।हो, मुख्यमन्त्री पाण्डेले अहिले गठबन्धनलाई खुसी बनाएर सत्ता टिकाउनकै लागि ८ मन्त्रालय फुटाएर १४ पुर्याएका छन् ।
अहिले गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा (एस) लगायत दल सहभागी रहेका छन् । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीबाट पदच्यूत गर्नुअघि गठबन्धबाट कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरेको थियो तर, पछि नेकपा (एस)ले पाएको थियो ।
भागबन्डा र सहमतिअनुसार मुख्यमन्त्री पद कांग्रेस र नेकपा (एस)ले पालैपालै सम्हाल्ने भन्ने छ । तर, पूरै पदावधि आफैँले सम्हाल्नका लागि पाण्डेले थप मन्त्रालय विस्तार गरेका छन् ।अब, मन्त्रालय बढेपछि मन्त्री, सचिव र स्वकीय सचिवहरुको संख्या बढ्ने नै भयो । र, त्यसको भार राज्यकोषले थेग्नुपर्नेछ ।
त्यसो त मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ । अब प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १४ मन्त्रालय पुग्ने भएको छ ।

















