काठमाडौं । विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारी गरेको छ ।बुधबार अध्यक्ष नेपाल र विवेकशील साझाका संयोजक पाण्डेको समूहबीच नेपाल निवास कोटेश्वरमा भेट भएको थियो ।
भेटमा पाण्डेको टोलीलाई नेकपा (एस) मा आउन अध्यक्ष नेपालले आग्रह गरेका छन् । यस विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेको बताइएको छ ।संघीयता र धर्मनिरपेक्षाबारे मत बाझिएपछि विकल्पको खोजीमा रहेको विवेकशील साझाको पाण्डे समूह यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफलमा थियो ।
तर, डा. भट्टराईसँग भन्दा अहिले नेपाल समूहसँग पाण्डेको समूह नजिकिएको छ । नेकपा एमालेमा विद्रोह गरेर नेकपा (एस) गठन गरेका नेपाल पाण्डे समूहलाई भित्र्याउन छलफलमा छन् भने पाण्डे समूहले पनि केही बटमलाइनका साथ नेपालको पार्टीमा प्रवेश गर्ने कसरत थालेको बताइएको छ ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेको कुरा नमिलेपछि पटकपटक एकता हुँदै र विभाजन हुँदै आएको छ।विवेकशील साझा पार्टी पछिल्लो समय फेरि विभाजनको संघारमा पुगेको छ। अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै संयोजक पाण्डेलगायत चार नेताले पनि अर्को प्रस्ताव ल्याएका थिए।

















