-
त्यो त्याग कसैले बुझेन, चित्त दुखेर आउँछ
काठमाडौं । चित्रलेखा यादव नेपाली काँग्रेसकी नेत्री हुन् । विद्यार्थी जीवनदेखि नेविसङ्घ हुँदै नेपाली काँग्रेसको राजनीतिमा होमिएकी यादवको पार्टीभित्र राम्रो छवि रहेको छ । पञ्चायतविरुद्ध प्रजातान्त्रिक आन्दोलनको समेत अनुभव भएकी उनी अहिले नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । २०५७/०५८ यता उनी निरन्तर केन्द्रीय सदस्यमा रहँदै आएकी छन् ।
एक समय पार्टीको कोषाध्यक्षको जिम्मेवारी बहन गरेकी उनी २०५६ मा सिरहा २ बाट निर्वाचित सांसद बनेकी थिइन् । सोही समय उपसभामुख समेत बनेकी उनी २०६२÷०६३ को जनआन्दोलनमा सभामुखको हैसियतले सडकबाटै विघटित प्रतिनिधि सभाको बैठक सञ्चालन गरेकी थिइन् । २०७२ मा शिक्षामन्त्री बन्न सफल उनी अब हुने नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा माथिल्लो तहमा आउने कसरतमा छिन् । परिआए नेपाली काँग्रेस हाँक्न सक्ने यादव बताउँछिन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापति वा महामन्त्री दाबी गर्ने तयारीमा रहेकी चित्रलेखा यादवका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमाः
-
राजनीति
मेरो राजनीति स्कुले जीवनबाट सुरु भएको थियो । कक्षा ८ मा पढ्दा पञ्चायत विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सहभागी थिएँ । एकजना दाइमार्फत त्यसमा होमिएकी थिएँ । उक्त समय उहाँले बीपीले लेख्नुभएको प्रजातन्त्र के हो,किन चाहिन्छ ?लगायत केही लेख पढ्न दिनुभएको थियो । ती लेखले प्रजातन्त्र हाम्रा लागि कति महत्त्वपूर्ण रहेछ भनेर बुझ्न सकें । सो समय साथीहरुलाई म दौडेर गएर दरबारभित्रबाट प्रजातन्त्र खोसेर ल्याउँछु भन्थेँ ।
विश्वविद्यालयमा पनि विद्यार्थी राजनीति गरेँ । विद्यार्थी जीवनमै २०४२/०४३ सालमा सिरहाको जिल्लाको कार्यसमिति सदस्य भएँ । त्यसपछि नेपाली काँग्रेसको राजनीति सुरु भयो । अहिले नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुँ । २०५७÷०५८ देखि नियमित केन्द्रीय सदस्यमा रहँदै आएको छु । एक पटक कोषाध्यक्षसमेत भएँ ।
२०५६ मा सिरहा २ बाट निर्वाचित सांसद भएको म अहिले समानुपातिकबाट सांसद भएकी छु । २०५६ मा उपसभामुखसमेत भएकी थिएँ ।
२०७२ साल शिक्षासमेत भएकी थिए । जिल्ला शिक्षा कार्यालय र स्कुल कहीँकतै खबर नगरेर सीधै कक्षाकोठामा निरीक्षणका गर्ने नेपालको पहिलो शिक्षा मन्त्रीमै होला । त्यसो गर्नुको उद्देश्य नियमित निरीक्षण र निगरानी भयो भने शिक्षा सुध्रिन्छ भन्ने थियो । अर्काे कुरो मैले शिक्षकको काजमा दुर्गमबाट सुगम सरुवा पनि गरिनँ । दरबन्दी दिन नसक्ने ठाउँका शिक्षक काजमा ल्याएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नुहुँदैन भन्ने मेरो धारणा थियो । त्यसकारण धेरै साथीभाइ मसँग रिसाए ।
अहिले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आएको छ । महाधिवेशनबाट माथिल्लो तहमा आउने मेरो सोच छ । त्यहीअनुसार साथीभाइसँग परामर्श भइरहेको छ । महिला माथिल्लो तहमा पुग्नुप-यो भन्ने आवाज पनि पार्टीभित्र छ । परिआए म नेपाली काँग्रेस पार्टी हाँक्नसक्छु । लामो अनुभवले त्यो क्षमता पनि छ ममा । पार्टीको सभापति वा महामन्त्री अहिले मेरो दाबी रहन्छ ।
अहिलेको परिस्थितिले नेतृत्व परिवर्तन खोजेको छ । राजनीति भनेको जनचाहनाअनुसार अगाडि बढ्ने हो । त्यसअनुसार अगाडि बढ्न सक्यो भने जनताले त्यो पार्टी रुचाउँछ । जुन पार्टीमा महिला त्यो पार्टी भन्ने अहिले पछिल्लो समय भनाइ समेत छ । कतिपयले मलाई तपाईंको चाहना किन बाहिर आएन भनेर प्रश्न गर्नुभएको छ । मैले साथीभाइले जे उपयुक्त ठान्छन् त्यही गर्न तयार छु भन्ने गरेको छु । साधारण सदस्य भएर पनि पार्टीमै रहने मेरो कटिबद्धता हो ।
-
भाषण
विषयवस्तुमै केन्द्रित भएर सीधा भाषण गरेको मनपर्छ । कतिपय मानिसको आफ्नो भाषणमा अनावश्यक कुरो तानेर ल्याएर लामो बोल्छन् । त्यो मलाई मनपर्दैन ।
म पनि सीधा भाषण ठोक्छु । मैले गर्ने भाषणमा सरल र एग्रेसिभ परिस्थितिले निर्धारण गर्छ । परिस्थिति र पब्लिकको चाहना र मुड जस्तो छ त्यहीअनुसार म भाषणमा सरल र एग्रेसिभ निर्धारण गर्छु ।
-
सपना
नेपाल बलियो र समृद्ध राष्ट्रको रूपमा विश्वको परिवेशमा अगाडि बढोस् भन्ने पहिलो सपना हो । अर्काे नेपाली काँग्रेसबाट पार्टीबाट अग्रजले देश र जनताका लागि जति धेरै काम गरेका छन् । यो पार्टी बलियो भएको,जनताको पार्टीको रूपमा अगाडि आएको र काँग्रेसले देश र जनताको मुहार फेर्न सफल भएको,काँग्रेसले जनतालाई सुखी,न्यायमुखी जीवन दिन सकेको हेर्ने सपना हो ।
- दुःख
राजनीतिमा षडयन्त्र धेरै हुँदो रहेछ । म रचनाात्मक काम गर्ने,कतै नअल्झिने,कसैलाई गालीगलौज नगर्ने,राम्रो काम गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताको मानिस हुँ । तर राजनीतिमा यस्तो धारणा राम्रो मानिँदो रहेनछ । सक्षम,योग्य र सरल भएको कारणले पार्टीभित्र पछाडि पार्नका लागि षड्यन्त्र बुनिँदा रहेछन् । त्यो देख्दा दुःख लाग्छ ।
विश्व संसदीय इतिहासमा म पहिलो सडक सभामुख हो । २०६२÷०६३ को जनआन्दोलनमा सभामुखको हैसियतले सडकबाटै विघटित प्रतिनिधि सभाको बैठक सञ्चालन गराएको थिए ।
सो समय जलस्रोत मन्त्रीको प्रस्ताव आएको थियो । मन्त्री पदसमेत रिजेक्ट गरेको जनआन्दोलनको अग्र मोर्चामा रहेकी मलाई त्यसपछि सभामुख दिनुपर्थ्यो । तर दिइएन । विदेशका धेरै राष्ट्रका पत्रकारले मेरो सडक सभामुखको विषयमा लेख तथा समाचार बनाएका थिए । त्यतिबेलाको त्यो त्याग कसैले बुझेन । त्यो नबुझेको देख्दा चित्त दुखेर आउँछ ।
त्यतिबेला मलाई सभामुख बनाउनुपर्थ्यो । त्यसो गर्दा देशकै प्रतिष्ठा बढ्थ्यो । अमेरिका जस्तो बृहत डेमोक्रेसी भएको ठाउँभन्दा नेपालमा पहिले महिला सभामुख हुन्थे । केही देशमा महिला प्रधानमन्त्री र राष्ट्रपति भएका थिए । तर सभामुख भएका थिएनन् ।
मलाई सभामुख दिएको भए पहिलो महिला सभामुख हुने देशमा नेपालको नाम लेखिन्थ्यो । त्यो अवसरबाट नेपाल चुक्यो । सभामुख मैले नपाएर त्यति दुःख लागेको थिएन । जतिबेला दुःख देशले यो अवसर गुमाएको थाहा पाउँदा लाग्यो । त्यो समय म एकदमै रोएको थिए ।
- भुल
मानिस हुँ जानी नजानी धेरै भुल भए होलान् । भुलबाट सिक्ने र सुधारेर जाने हो । गल्ती नहोस् भनेर केही काम गर्नु पहिले म चार चोटि सोच्छु
- विवाह
२०३९ सालमा मैले एरेन्ज म्यारिज गरेकी हुँ । विवाहपछि श्रीमान्सँगै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि जारी छ । विवाह अगाडि कलेज र स्कुल पढ्दा कोहीसँग प्रेम बसेन । किनभने म पढाइमा राम्रो विद्यार्थी थिए । सबैसँग राम्रो मित्रता थियो । सबैलाई पढ्न सिकाउँथे । तर कसैसँग प्रेम भने भएन ।
- खाना
मनपर्ने खाना दाल,भात र तरकारी नै हो । गुन्द्रुक,भटमास र तामा लगायतका तरकारी बढी मनपर्छ । रोटी पनि खान्छु । मन नपर्ने केही छैन । साकाहारी भएकाले माछा,मासु,अन्डा खान्नँ ।
रेस्टुरेन्ट परिवार साथीभाइ सबैसँग जान्छु । त्यहाँको भेज,इन्डियन खाना र मम मनपर्छ । मैले जीवनमा नगरेको एउटै काम भनेको पकाउने हो ।
- फिट्नेस
फिट्नेसमा सजगकै छु । पहिलेदेखि नै नियमित एक्सरसाइज गर्छु । केही योगको आसन पनि गर्छु । घरमै सिँढीमा तलमाथि गरेर वाक समेत गर्छु । घरमा केही एक्सरसाइजका सामान छन् । तर म त्यो प्रयोग गर्दिनँ ।
- पोसाक
सुहाउने,राम्रो लाग्ने र प्रयोग गर्ने पोसाक सारी चोलो हो । घरमा बस्दा पनि यस्तै नेपाली पहिरन प्रयोग गर्छु । पहिरनमा मनपर्ने रङ्ग लाइट,स्काई कलर हो ।
मैले अहिलेसम्म आफ्नो लागि पहिरन किनेको छैन । हाम्रो समुदायमा माइत,मावली,आफन्तको जहाँ गए पनि पहिरन दिने चलन छ । त्यसैले पुगेको छ ।
- अध्ययन
अध्ययन गर्ने बानी छ । श्रीमानले नयाँ नयाँ पुस्तक ल्याउनुहुन्छ । उहाँले ल्याएपछि म पनि पढ्छु । म अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकाले साहित्यमा कविता,कथालगायत पढ्छु । विद्यार्थी जीवनमा जीवनीहरू समेत पढ्थेँ ।
कोठामा धेरै पुस्तक राखेको छु । ती मध्ये ‘द क्वालिटी आफ लाइफ’ भन्ने पुस्तक पनि छ । यो मेरो मनपर्ने पुस्तक पनि हो । यो पनि फेरि पढिरहेकी छु । अन्य केही किताब पढ्दै छु । लिभिङ रुममा समेत मैले किताब सजाएर राखेको छु ।
- घुमघाम
घुमघाममा असाध्यै रुचि छ । घुम्नका लागि ऐतिहासिक,धार्मिक ठाउँहरु मनपर्छ । विदेशका करिब ४०÷४५ देश पुगेँ होला । देशको पनि करिब करिब सबै जिल्ला टेकेकी छु ।
अहिले घुम्न जान मन लागेका ठाउँ थुप्रै छन् । ती मध्ये चार धाम एक हो ।
- फुर्सद
सबैभन्दा समस्याको विषय नै फुर्सद हो । फुर्सद कहिल्यै हँुदैन । यसो गरौँला,उसो गरौँला भनेर प्लानिङ ग¥यो फुर्सदको नभएका कारणले प्लानिङ फेल हुने रहेछ । केही न केही अपर्झट काम आइपरेकै हुन्छ । जनताको सेवा गर्छु भनेर राजनीतिमा आएपछि पव्लिकले भनेको नाइँ भन्न पनि नसकिने रहेछ । त्यसैले फुर्सद नै हुँदैन ।
- खेलकुद
खेलकुदमा रुचि छ । सानोमा धेरै खेलहरु खेल्थेँ । भलिबल,रनिङ लगायतमा टिम लिडर भए धेरै खेल्थे । पढाइ होस् वा खेलकुद म सेकेन्ड भएको रेकर्ड छैन । जुनै खेलमा पनि भाग लिन्थेँ र भाग लिएको खेलमा फस्ट नै हुन्थेँ । खेलकुदबाट थुप्रै पुरस्कार जितेकी छु । समयको अभावले अहिले खेलकुद हेर्नसमेत रुचि छैन ।
- मोबाइल
पहिले धेरै समयसम्म मैले मोबाइल बोकिनँ । साथीभाइ सबैले यस्तो पनि हुन्छ भनेर गिल्ला गर्न थालेपछि बोक्न थालेँ । मेरा साथी भाइमध्ये सबैभन्दा पछि मोबाइल बोक्ने मै होला ।
अहिले नोकिया र आइफोन गरेर दुईवटा मोबाइल छन् । कुरा गर्न नोकिया प्रयोग गर्छु भने मल्टिमिडिया,सामाजिक सञ्जाल,इमेल,युट्युब लगायत प्रयोग गर्न आइफोन चलाउँछु । समाचारहरु समेत यसैबाट हेर्ने गर्छु । आइफोन छोराले अमेरिकाबाट पठाएको हो ।
- टिभी
कहिले पार्टीको मिटिङ,कहिले अन्य मिटिङ र अन्य कामले सधैँजसो व्यस्त हुने भएकाले टीभी हेर्न भ्याउँदिनँ । घरमा बसेको समय केही राम्रो कुरा आएको छ भने १०/१५ मिनेट हेर्छु पनि ।
- चलचित्र
अध्ययनको समय कीर्तिपुरको गल्र्स होस्टल बसेर पढियो । त्यतिबेला पनि साथीहरु जाँदा म हलमा गएर फिल्म हेर्दिनँ भन्ने । कलेज समय कहिलेकाहीँ जान्थेँ । अहिले हलमा गएर फिल्म नहेरेको धेरै भयो ।
आर्ट खालका,अस्करमा नोमिनेशन भएका,चर्चा आएका फिल्म भने कहिलेकाहीँ हेर्छु । कसैले हेर्नैपर्ने भनेर सिफारिस गरेका फिल्म पनि हेर्छु । फिल्म हेर्ने समय अध्ययनमा दिन मलाई मन लाग्छ ।
- गीतसङ्गीत
गीतसङ्गीत धेरै मनपर्छ र सुन्छु पनि । जीवन,जगत,परिस्थिति झल्काउने,मानिसलाई मार्ग निर्देशन गर्ने र दुःख,सुखका घटना सम्झाउने गीतसङ्गीत सुन्छु । भजन पनि मनपर्छ । गीतसङ्गीत सुन्ने प्रायः बेलुकाको समय हो ।
स्कुलले जीवनमा एक पटक गीत गायन र कविता प्रतियोगितामा पनि प्रथम भएकी थिएँ । त्यसपछि यसमा कटिबद्ध हुन सकिएन ।
- मापसे
मापसे कहिल्यै गरिन र झुकावसमेत रहेन । आफूले नखाए पनि अहिले घरमा सजाएर राख्ने चलन छ । म भने त्यसो गर्दिनँ । घरमा आउने पाहुनाले मागे बाहिरबाट उपलब्ध गराउँछु ।
- रोग
भगवानको आशीर्वादले अहिलेसम्म केही रोग छैन ।
- राशि
मेरो राशि ‘मीन’ हो । ग्रहदशामा विश्वास लाग्छ । हेराउने जुराउने गर्दिनँ । सानैदेखि भगवानप्रति विश्वास रहँदै आएको छ । भगवानको भक्ति समेत गर्छु ।
भगवान हुनुहुन्छ,जे दिने हो उहाँले दिनुहुन्छ भन्ने सानैदेखि लाग्नेगथ्र्यो । त्यो विश्वास उमेरसँगै झन् गाढा भएको छ । मेरो भगवान प्रतिको विश्वास कहिल्यै घटेन ।
- मृत्यु
मृत्यु जीवनको अन्त्य हो । हामी सबै एक दिन जानैपर्छ । को,कहिले भन्ने कसैलाई थाहा हुँदैन । मृत्यु अगाडि राम्रो काम गर्न छोड्नु हुँदैन मेरो धारणा हो ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । रातोपाटीबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया !