एजेन्सी । इटाली युरोपेली च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियामाथि २-१ को जित निकाल्दै इटाली अन्तिम आठमा प्रवेश गरेको हो ।खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो भने अस्ट्रियाले एक गोल मात्रै गर्यो ।
अतिरिक्त समयको ९५ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । उनले किएजाले स्पिनाजोलाको पासमा गोल गरेका थिए ।इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्यो । आर्सबीको पासमा माटेओ पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।
अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।
अष्ट्रियालाई हराउँदै इटालीले नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरेको छ । लगातार ३१ खेल अपराजित रहँदै इटालीले ८२ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।

















