झाझपट्टि । सिमा प्रहरी चौकी झाझपट्टिले बुधबारदेखि खोई मास्क? अभियान सञ्चालन गरिरहेको छ । मास्क लगाई कोरोनाबाट आफु पनि बाचौँ, अरुलाई पनि बचाऔँ भन्ने सन्देशका साथ खोई मास्क ?अभियान सञ्चालन गरिएको हो ।

स्थानीय तह, पत्रकारहरु ,कार्यालय, संघसंस्था एवं सरोकारवालाहरुको सहभागितामा मास्कको प्रयोग बारे सचेतना प्रवाह गर्न सो अभियान सञ्चालन गरिएको सिमा प्रहरी चौकी झाझपट्टिले जनाएको छ ।

अभियान अन्तर्गत नवराजपुर गाउँपालिकाको सिमा क्षेत्रमा प्रहरी सडकमा आई सर्वसाधारणले मास्क लाए÷नलाएको अनुगमन तथा निरीक्षण गर्ने गरेको छ। कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको बेला कतिपयले मास्कबिनै बजार हिँडडुल गरेको पाइयो ।
त्यसैले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै अभियान सञ्चालन गरिएको सिमा प्रहरी चौकी झाझपट्टिका प्रमुख प्रहरी नायब निरीक्षक शैलेन्द्र यादवले बताए ।

‘कोरोना भाइरसबाट जोगिन महत्वपूर्ण अस्त्रहरुमध्ये मास्कको प्रयोग प्रभावकारी रहेको छ । यसर्थ मास्कको सही प्रयोग गर्न अभियानले सचेतना प्रवाह गरेको छ ।’ उनले भने ‘ अहिले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउन तर्फ सबै लाग्नुपर्छ ।
त्यसको लागि सबैले स्वास्थ्य मापदण्डको पुर्ण रुपमा परिपालना गर्नूपर्छ ।’ अभियान अन्तर्गत कोहीकसैले मास्क नलगाएको पाइएमा मास्क लगाउन अनुरोधसहित मास्क वितरण पनि गर्ने गरिएको उनले बताए ।
सिमा क्षेत्र , गाउँपालिकाको विभिन्न ठाउमा मास्कबिनै हिंड्ने २ सय ४० जना व्यक्तिलाई कोरोना भाइरसको असर र मास्कको प्रयोगबारे जानकारी दिई मास्क वितरण गरिएको उनले बताए । यो अभियान केहीदिन सम्म सञ्चालन गरिने र त्यसपछि पनि मास्कको प्रयोग नगर्नेहरुलाई प्रचलित कानून बमोजिम कारबाही गरिने समेत जनाइएको छ ।


















