काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लगेर हटाउने बताउनुभएको छ ।नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजिनामा नदिए संसदमा अविश्वासको प्रस्ताव लगेरै हटाउने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीलाई जतिसक्दो चाँडो नहटाए लोकतन्त्र खतरामा रहने भएकाले प्रधानमन्त्रीबाट नहटेको खण्डमा अविश्वासको प्रस्ताव नै ल्याएर भए पनि हटाउने हो ।
उहाँले भन्नुभयो ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौंं ।खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनर्स्थापनाका लागि आवाज उठाएका तीनवटा दलकोबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’साथै, अब बन्ने नया सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताउनुभएको छ । अब यस विषयमा अन्य दलसँग छलफल गर्न कांग्रेस अघि बढ्ने पनि उहाँले बताउनुभयो ।

















