बुटवल । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगमनकारी भएको पुनः दाबी गरेका छन् ।बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जसपा अध्यक्ष यादवले ओली सरकार प्रतिगमनकारी भएको आफ्नो पार्टीको आधिकारिक लाइन भएको प्रष्ट पारेका हुन् । अध्यक्ष यादवले विगतमा प्रतिगमन विरोधी दलहरूको सहकार्यमा सरकार बनाउनुको विकल्प नभएको स्पष्ट पारे ।
जसपामा ओली नेतृत्वको सरकालाई हेर्ने विषयमा अहिले अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद रहेको छ । यादव नेतृत्वको पूर्व समाजवादी पार्टी पक्षले ओलीलाई कुनै पनि हालतमा साथ दिन नहुने बताउँदै आएको छ भने ठाकुर नेतृत्वको पूर्व राजपा पक्षले आफ्ना माग पुरा गरे ओलीलाई साथ दिन सकिने बताइरहेको छ ।
ठाकुर पक्षले ओली सरकारमा सामेल हुन ओली पक्षीय एमाले र सरकारसँग सघन वार्तामा बसिरहेको छ । तर, पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने रेशम चौधरीको रिहाई भए पनि पार्टीले ओलीलाई समर्थन नगर्ने स्पष्ट पारे ।
यादवले संसदलाई विजनेश नदिएर असफल बनाउन प्रधानमन्त्री ओली क्रियाशिल भएको आरोप लगाए । यादवले भने, ओली जसरी पनि संसद सिध्याउने खेलमा लागेका छन् । अहिले पनि प्रतिगमनको खतरा कायम छ ।’ ओली नेतृत्वको सरकार नहटाएसम्म प्रतिगमनको खतरा भइरहने उनको भनाइ छ । उनले संविधानलाई मिचेर अध्यादेशबाट देश चलाउने प्रयास भैरहेको जिकिर गरे ।

















