- काठमाडौं : मङ्सिर २१ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा बल प्रयोग भएको बताउनुभएको छ । आफ्नो चाहनाविपरीत आइतबार (भोलि)का लागि स्थायी कमिटी बैठक तय भएपछि कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित बहुमत सदस्यले बल प्रयोग गरेको आरोप लगाउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पार्टीमा बल प्रयोग हुन थालेको बताउँदै अर्का अध्यक्ष दाहालको लाञ्छना पत्र छलफलकै लागि उपयुक्त नभएको बताउनुभयो । साथै दाहालको उक्त प्रस्तावलाई फिर्ता लिनुपर्ने सुझाउदै उहाँले सो प्रस्तावलाई लिएर स्थायी कमिटीमा जान नसकिने बताउनुभयो ।
ओलीले राख्नुभएको धारणा उद्धृत गर्दै एक सदस्यले भन्नुभयो, ‘स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीँ छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ ।’
सहमति नभए बहुमत अल्पमतबाट भए पनि विवाद टुंगाउने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले बल प्रयोग भएका बताउनुभएको हो । उहाँले महाधिवेशनसम्म अध्यक्ष र चुनाव नभएसम्म प्रधानमन्त्री नछाड्ने अडान लिनुभएको छ ।
त्यसोत, गत बुधबारको सचिवालय बैठकमा ओली उपस्थित हुनुभएन । उहाँको अनुपस्थितमा भएको निर्णयअनुसार शनिबार (आज) सचिवालय बैठक बसेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीलाई लान लागिएको हो । स्थायी कमिटीको बैठक यही मङ्सिर २१ गते दिउँसो १ बजेका लागि तय गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !