- काठमाडौं : कार्तिक १२ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउँदैछन् । उनको तीन दिने भ्रमणको उद्देश्य दुई देशको सम्बन्ध सुधारमा मात्र केन्द्रीत हुँदैन, उनी नेपाली सेनाको मानार्थ महारथीको दर्जा पनि लिदैछन् ।
नेपालका प्रधानसेनापतिले पनि भारतको मानार्थ महारथीको दर्जा लिने चलन रहँदै आएको छ । दुई देशका सेनालाई यो प्रचलनले जोड्ने गरेको इतिहास रहेको छ ।
नेपाल र भारतका सेनाध्यक्ष एक-अर्का देशका मानार्थ महारथी रहने प्रचलन छ । दुबै देशका राष्ट्र प्रमुखले एकअर्कालाई महारथीको दर्जा दिन्छन् ।
नेपालका एक मात्र सेनापति हुन्छन् भने भारतमा तीन किसिमका सेना रहन्छन्, स्थलसेना, जलसेना र वायुसेनाका छुट्टा–छुट्टै जनरल रहन्छन् । ति मध्ये स्थलसेना प्रमुखले नेपालको महारथीको मानार्थ दर्जा पाउँछन् । यही प्रचलन अनुसार नरवणेले नेपाली सेनाको मानार्थ महारथी पाउने छन् ।
कसरी सुरु भयो परम्परा ?
यो परम्परा राणा शासनकालका तेस्रो तथा नेपालका ११ औँ प्रधानमन्त्री वीर शमसेरको शासन कालबाट सुरु भएको हो ।
नेपालले सन् १८१५ मा भारतमा शासन गरिरहेको ‘ब्रिटिस इस्ट इन्डिया कम्पनी’ सँग युद्ध हा-यो । त्यसपछि नेपाल र इस्ट इन्डिया कम्पनीबीच २ डिसेम्बर १८१५ मा सुगौली सन्धि भयो भने ४ मार्च १९१६ मा स्वीकृति भयो ।
उक्त सम्झौतामा नेपालले लडाईंमा हारेको भूमी छोड्नुपर्ने, ब्रिटिस प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिस सेनामा भर्ती गरिने लगायतका बुँदा राखिएको थियो ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको नेतृत्वमा ब्रिटिससँग भएको युद्धमा नेपाल पराजित भएको थियो । तर, भीमसेन थापाले नेपालमा ब्रिटिस प्रतिनिधि राख्ने अनुमति दिए पनि नेपालीलाई ब्रिटिस सेनामा पठाएनन् र अन्य सम्झौता पनि कार्यान्वयन गरेनन् ।
तत्कालीन ब्रिटिस इस्ट इन्डियाकै समर्थन र सहयोगमा जंगबहादुर राणा शासनमा आए । तर, उनले भने सुगौली सन्धि पूरा पालना गरेका थिएनन् । जंगबहादुरको मृत्युपश्चात् उनका भाइ रणोद्दिप राणा प्रधानमन्त्री भए ।
उनले पनि नेपाली युवालाई ब्रिटिस सेनामा औपचारिकरूपमा पठाएनन् । रणोद्दिपलाई उनकै भतिजा वीर शमशेर राणाले १९४२ सालमा षड्यन्त्रपूर्वक हत्या गरे । सुगौली सन्धिअनुसार नेपालमा आफ्नो प्रतिनिधि राखेको र भारतमा शासन गरिरहेको ब्रिटिस इन्डियाले वीर शमशेरलाई जंगबहादुरको उत्तराधिकारी मानेन ।
आफूलाई उत्तराधिकारी स्वीकार गराउन वीर शमशेरले व्रिटिसको सामान्य सैनिक पल्टनको मानार्थ कर्नेलको उपाधि स्वीकारेका थिए । ब्रिटिसको चाकरी नगरी सत्तामा नटिकिने बुझेका वीर शमशेरपछिका शासकहरू देव शमशेर राणा, चन्द्र शमशेर राणा, भीम शमशेर राणाले पनि मानार्थ कर्नेलको उपाधि ग्रहण गरे ।
भारत स्वतन्त्र भएपछिको निरन्तरता :
सन् १९४७ मा भारत ब्रिटिस शासनबाट स्वतन्त्र भयो । भारत स्वतन्त्र भएपछि पनि केही समयका त्यहाँको सेना व्यवस्थापन ब्रिटिस सरकारले नै गरेको थियो ।
भारत स्वतन्त्र भएलगत्तै नेपालमा पनि विसं २००७ मा राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापन भयो । राजा त्रिभुवन वीरविक्रम शाह गद्दीमा फर्के । पहिले सरकार प्रमुखले लिँदै आएको मानार्थ नेपाली सेनाका तत्कालीन सर्वोच्च कमान्डर राजा त्रिभुवनले भने लिन मानेनन् ।
भारत र नेपालबीच १९५० मा भएको शान्ति तथा मैत्री सन्धिको पाँच नम्बर बुँदामा नेपालले सुरक्षा निमित्त चाहिने सबै सामग्री भारत वा भारतको बाटो हुँदै ल्याउनुपर्ने व्यवस्था छ । योसँगै व्रिटिस-इण्डियाले थालेको मान नयाँ भारतले पनि मैत्री सन्धीलाई आधार मान्दै सुरु ग-यो ।
सन् १९५० मै भारतका सेनाध्यक्ष जनरल के एम कारियाप्पाले पहिलो मानार्थ महारथीको दर्जा लिएका थिए । यहाँबाट नेपालका प्रधानसेनापतिले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा लिन थाले ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !