अछाम,भदौ ८ गते सोमबार ।।
जनप्रभाब – सम्बादाता
अछाम रामारोशन गाउँपालिकाको सैनीबजारमा बुधवार बिहान कैलाश खोलाको बाढीले ठूलो जनधनको क्षती गर्यो । राति १ बजे बजार भित्रै पसेको कैलाशको बाढीले १७ जनालाई बगायो। ती मध्ये १० जना अझै बेपत्ता छन्। तिनका आफन्तजन र सुरक्षाकर्मी डोटी र कैलालीका नदी तटहरुमा अझै आफ्ना मान्छेहरुको लास–श्वास केही भेटिन्छ की भनेर झिनो आँशामै आँशु बगाइरहेका छन्।
घटनाको चौथो दिन गृहमन्त्री रामबहादुर थापा (बादल), पुर्ब गृहमन्त्री तथा अछामकै स्थानीय भीमबहादुर रावल र सुदूरपश्चिमका थुप्रै नेता–कार्यकर्ताहरु त्यहाँ पुगे। पीडित परिवारलाई राहत बितरण गरेर फर्किए। अछामको त्यो दुर्गम कुनो। जहाँ पुग्न सदरमुकामबाट पैदल एक दिन लाग्छ। त्यहाँ बाढीको यति भयंकर बितण्डा मच्चिदा र मानवीय क्षती हुदाँ पनि त्यसमा समबेदना ब्यक्त गर्ने भने थोरै देखिए। तर, त्यो भन्दा ठूलो समाचार शीर्षक बन्यो–‘राहत बितरण गर्दा धानबाली नोक्सानी’ को।
![](https://www.mahendranagarpost.com/wp-content/uploads/2020/08/ramaroshan-2.jpg)
सामाजिक सञ्जालहरुमा गृहमन्त्री थापा र अन्य नेताहरु धानबाली माथि कूर्सी राखेर बसेका तस्बिर सार्बजनिक भए। तिनै तस्बिरहरु देखेर मानिसहरुले धारणा बनाए। फेसबुक र ट्वीटरमा गालीको बर्षा भयो। तर के त्यहाँ साच्चिकै धानबाली माथि यस्तो अमानवीय ढंगले कार्यक्रमस्थल निर्माण गरिएको थियो ? त्यहाँ टेबुल, कूर्सी राख्न नेताहरुलेनै स्थानीय कार्यकर्ताहरुलाई अह्राएका थिए? राहत दिन्छु भनेर गएका नेताहरुले पीडित परिवारलाई आहत दिएरै फर्किएका हुन्?
दुई दिन यता यस्ता धेरै प्रश्नहरु सामाजिक सञ्जालहरुमा गरिए। तर, तिनको उत्तर भने स्थानीयस्तरबाटै आउन थालेको छ। ‘खबर जो बिकता हे’ को हिन्दी शैलीमा सामाजिक सञ्जालहरुमा आएका तस्बिरहरुको वास्तविकता नबुझेर लेखिएका समाचारहरु दुई दिनमै फिक्का भएका छन्।
‘धानखेत मासेर कार्यक्रम गरेको भनेर केहि मिडिया र सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ,’ रामारोशन गाउपालिकाले सोमवार जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘फोटोमा देखिएको धान कार्यक्रमका लागि भाचिएको नभएर बाढीले बालुवासहित बगाएको हो।’ बाढीले बगाएको र पटान गरेको खेतमा राहत बितरण गरिएको र त्यही स्थानमा कार्यक्रम गर्न स्थानीयबासिन्दा, जनप्रतिनिधिहरुको सल्लाह भएको बिज्ञप्तीमा लेखिएको छ।
भदौ २ गतेको विनासकारी बाढीले रामारोशन गाउँपालिका ५ स्थित सैनिबजार लगायत सम्पुर्ण कैलाश तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। क्षतीको निरीक्षण तथा राहत हस्तान्तरण गर्न गृहमन्त्री थापा, पुर्व उपप्रधान तथा गृहमन्त्री रावल, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट, राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, तारामान स्वार लगायतको टोली त्यहाँ पुगेको थियो।
![](https://www.mahendranagarpost.com/wp-content/uploads/2020/08/ramaroshan-3.jpg)
गाउँपालिका अध्यक्ष झँकरबहादुर साउदद्धारा जारी बिज्ञप्तीमा धान खेत मासेर कार्यक्रम गर्नुहुदैन भन्ने ज्ञान स्थानीय सरकारलाई समेत भएको उल्लेख छ। जग्गा धनी पठानसिंह साउँदले पनि बाढीले धान बालीमा गरेको क्षतीको प्रत्यक्ष अवलोकन गराउन त्यहाँ आफुले नै कार्यक्रम गर्न भनेको बताए। ‘बाढीले धान खेत सोत्तरै बनाएको थियो। धान मासेर त्यहाँ मञ्च बनाइएको होइन,’ साउदले भने, ‘वास्तविकता नबुझेरै समाचार लेख्दा दुःख लागेको छ।’
यस्तै राससका अनुसार गृहमन्त्री थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएको समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ।
बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाउँदै सचिवालयले प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको हो। गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले राहत वितरणका क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार रहेको बताए। कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ। ‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’, प्रेस नोटमा भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !