अपराध महाशाखाका एसएसपी दिपक थापाको नेतृत्वमा छानविन समिति गठन
- काठमाडौं,साउन १५ गते बिहिवार ।
- जनप्रभाब-सम्बादाता
कमलादीको नक्कली सुन र पेस्तोल बरामद घटनामा प्रहरीको अनुसन्धान माथि नै शंका उब्जिएको छ। मध्य शहरमा दिउँसै प्रहरीको आँखा अगाडि तस्करको गाडी फुत्किएपछि अनुसन्धान टोलीमाथि प्रहरीले अनुसन्धान गर्ने भएको हो ।
मंगलबार प्रहरीले बरामद गरेको नक्कली सुन र पेस्तोलको घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति गठन भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका एसएसपी दिपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
मंगलबार बिहान करिब ९ बजेतिर चेकिङ गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कमलपोखरी स्थित कृष्ण पाउरोटी तर्फबाट आएको थियो। प्रहरी देखेपछि नरोकी हुइिकयो। रोक्न खोज्दा भागेपछि प्रहरीले फलो गर्यो। गाडीमा रहेका मानिसले भित्रबाट सेतो रंगको झोला गाडीबाट बाहिर हुत्याए। झोला सुन र दुई थान पेस्तोलले भरिएको थियो।
प्रहरीले चेक गर्दा १५ किलोमध्ये आधा किलो मात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दिएको थियो। ‘किन गाडी समात्न सकिएन? प्रहरीको कमजोरी कि नियतवश भन्ने विषयमा अनुसन्धान हुन्छ,’ कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।
समितिले गाडी किन समात्न सकिएन? र उनीहरुको को थिए भन्ने विषयमा अनुसन्धान गर्ने छ।
तर गाडी कहाँ गयो? यसरी सुन फालेर हिंड्ने को थिए? अनि प्रहरीले गाडी किन फलो गरेन भन्ने प्रश्नको जवाफ प्रहरीले दिनसकेको छैन। घटनाको थप अनुसन्धानको लागि समिति गठन गरिएको प्रहरीले जानकारी दिएको छ।
समितिमा एसएसपी किरण बज्रचार्य, एसपी सोमेन्द्र राठौर, डीएसपी दुर्गा दाहाल र डीएसपी राजकुमार केसी रहेका छन्।
सुनचाँदी व्यवसायी महासंघले गरेको परीक्षणमा बरामद भएको १५ केजी सुन भनिएको पहेंलो धातुमध्ये ५ सय ग्राम अर्थात् आधा केजी सक्कली भएको पुष्टि भयो। बाँकी चाहिँ सुनको जलपमा लपेटिएको चाँदी थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !