- भैरहवा,साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
भैरहवामा रहेको सार्वजनिक जग्गामा उद्योग व्यापार संगठन रुपन्देहीले कब्जाको प्रयास गरे पछि स्थानिय बासिन्दाले त्यसको विरोध गरेका छन् । सिद्धार्थनगर नगरपालिका- ३ दुर्गापथमा रहेको कित्ता नम्बर २४०४ को जग्गा उद्योग व्यापार संगठनले गैरकानूनी रुपमा कब्जाको प्रयास गरेको स्थानियहरुले आरोप लगाएका छन् ।
बुद्ध पार्कको नाम दिएर स्थानियहरुले संरक्षण गरि आएको जग्गामा उद्योग व्यापार संगठनले आँखा लगाएपछि त्यसको विरुद्ध त्यहाका स्थानिय उभिएका छन् । उनिहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि त्यहा कुनै पनि संघ संस्थाको कुनै किसिमका भवन बन्न नदिने बताए । बिगत १०-१५ बर्ष देखी संरक्षण गरि रेखदेख गर्दै आएको उक्त जग्गामा यसै बर्ष सिद्धार्थनगर नगर पालिकाको कार्यालयले १० लाख बजेट बिनियोजन गरि माटो पटान र घेरा लगाउने लगायतको काम गरि रहेको छ ।
स्थानियहरुले जग्गा कब्जाको प्रयासलाई भु–माफियाको चलखेल भएको दाबी गरेका छन् । उनिहरुले यस अघि पनि बिभिन्न संस्थाको नाममा भुमाफियाहरुले गरेको जग्गा कब्जाको प्रयास असफल बनाई दिएको बताए । “अहिले पनि उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले भु–माफियाको भाषा प्रयोग गरि सामाजिक सञ्जालमा हामी स्थानियलाई धम्की दिई रहेका छन् ।” स्थानिय उत्तम श्रेष्ठले भने “ हामी एकजुट भएकोले भुमाफियाहरु आत्तिएका छन ।” स्थानिय पवन थापाले पनि स्थानियहरुको विरोधकाबिच कुनै पनि राजनैतिक दल वा बलजफ्ती वा कुनै पनि सरकारी कागजात बनाएर जग्गा हडप्ने प्रयास भए पनि जग्गा कब्जा गर्न नदिने बताए ।
स्थानियहरुले उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले सामाजिक सञ्जाल मार्फत स्थानियहरुलाई आक्षेप लगाउने गरेको बताए । उनिहरुले यसको समाधान र भण्डारीलाई कारवाहीको लागी सम्बन्धित निकायहरुमा उजुरी पनि गरेको बताए । स्थानियको अवरोधकाबिच उद्योग व्यापार संगठन रुपन्देहीले उक्त जग्गामा आफुहरुले ३० लाख खर्च गरि सकेको बताएको छ । संगठनले साउन १ गते एक प्रेस बिज्ञप्ती जारी गर्दै जग्गा ३० बर्ष लिजमा लिने गरि सम्पूर्ण प्रक्रिया अगाडी बढाई सकेको बताएको छ ।
संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बिज्ञप्ती जारी गर्दै भूमि ब्यवस्था मन्त्रालय मार्फत दिर्घकालीन लिजका लागी मन्त्रीपरिषद्मा पठाउने तयारी भई रहेको जनाएका छन् । उनले प्रक्रियामा रहेको जग्गालाई वडा कार्यालयले बजेट बिनियोजन गरि कम्पाउण्ड वाल निर्माण गरेकोमा त्यसमा संगठनको आपत्ति रहेको जनाएका छन् । प्रक्रियामा रहेको जग्गामा लगानी गर्नु भनेको बजेटको दुरुपयोग भएको संगठनको ठम्याई छ । निर्माण भई रहेको संरचना तत्काल रोक्नु पर्ने माग गर्दै संगठनले त्यस्तो नभए अन्य निकाय मार्फत न्यायको खोजी गरिने पनि जनाईएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा पछिल्लो समय पर्यटकिय नगरको रुपमा समेत विकसित भई रहेको छ । एशियाली बिकास बैंकको लगानीमा नगरको बाटो र ढल निकासमा उल्लेख्य प्रगति भए पनि सिंगो नगरमा एउटा पनि व्यवस्थित पार्क छैन । नगर भित्रका सार्वजनिक जग्गाहरुमा कोही राजनैतिक दलको दम्भमा भने कोही स्थानिय जनप्रतिनिधिको सहयोगमा कब्जाको प्रयास जारी रहेको बुद्ध पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश गुरुङ्गले बताए । सार्वजनिक जग्गाको संरक्षणमा लाग्नु पर्ने संस्थाहरु नै यसको कब्जामा लागे पछि स्थानियहरु बिरोधमा उत्रिनु परेको उनको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !