- जनकपुर ,साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
धनुषामा एक कार्यालयले निर्माण नसक्दै भुक्तानी आदेश दिएको पाइएको छ । मिथिला नगरपालिका नक्टाझिजस्थित कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले योजनाको काम नसक्दै भुक्तानी आदेश दिएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाका प्रमुख डा. वीरेन्द्र मिश्रले जानकारी दिएका छन् ।
स्वीकृत वार्षिक कार्यक्रमको योजनामा सार्वजनिक खरीद ऐन, नियमावली तथा आर्थिक कार्यविधि अनुसार काम सम्पन्न भएपछि मात्र भुक्तानी हुने गर्छ । तर धनुषामा योजनाको निर्माण सम्पन्न नहुँदै पनि भुक्तानीका लागि कार्यालयले आदेश दिएको कार्यालय प्रमुख मिश्रको भनाइ छ । यद्यपि कोष तथा लेखा नियन्त्रण कार्यालयले भुक्तानी रोक्का गरेको छ ।
‘कार्य सम्पन्न नहुँदै कागजमा कार्यसम्पन्न भएको उक्त कार्यालयले देखाएको छ,’ मिश्रले भने, ‘भुक्तानी आदेश गर्ने कार्यालयको भुक्तानी रोक्का गरेर कोष तथा लेखा नियन्त्रक कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।’ स्थलगत अनुगमन गरेर निर्माणाधीन कार्यलाई यथास्थितिमा राख्न निर्देशन दिइएको उनले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले डीप ट्युबबेल जडान गरेबापत १६ लाख १ हजार २८ रुपैयाँ भुक्तानी गरिदिन असार ३० गते फाइलसहित पठाएको थियो । राष्ट्रिय धानबाली अनुसन्धान परिषद् हर्दिनाथ बनीनियाको परिसरमा डीप ट्युबबेल जडानको काम जेठ १५ गतेदेखि शुरू भई असार २९ गते सम्पन्न भएको भनेर प्राविधिक मूल्यांकनसहित कार्यालय प्रमुख रतनकुमार पुर्बेले भुक्तानीका लागि असार ३० गते फाइल पठाएका थिए ।
‘काम नै सम्पन्न नभएको भनेर जानकारी आएकाले अन्य कर्मचारीबाट समेत बुझ्दा काम त्यसको पुष्टि भएपछि भुक्तानी रोक्का गरेँ,’ मिश्रले भने, ‘त्यसपछि साउन २ गते म आफै पनि स्थलगत निरीक्षण गर्न जाँदा ट्युबबेल निर्माणाधीन अवस्थामै पाएँ ।’ कार्यस्थलमा कार्यरत कामदारबाट समेत साउन २ गतेसम्म काम भइरहेको मुचुल्का उठाएर कार्यालयका निमित्त कार्यालय प्रमुख पुर्बेलाई यथास्थितिमा काम राख्न भनिएको उनले बताए ।
असार २५ गतेसम्म सम्पन्न भइसक्नुपर्नेमा २५ गतेसम्म निर्माणको तयारी नै नभएको र साउन २ गते कार्यस्थलमा पुग्दा ट्रकमा मेशिन राखेर काम भइरहेको पाइएको उल्लेख छ । उक्त योजनामा कार्यरत मजदूरले असार २७ गतेदेखि काम शुरू गरिएको बताएका छन् । असार ३० गते होल पार्ने, १२० मिटर गहिरो खाल्डो खनेर वाटर लकिङ गरेर पानी परीक्षण गरिएको उनीहरूको भनाइ छ ।
‘असार ३१ गते साँझसम्म पाइप वेल्डिङ गरेर तयार पारेका थियौं । तर पानीमा हिलो आएकाले काम रोक्यौं,’ कार्यरत एक मजदुरले भने, ‘त्यसपछि १ गते बिहान ३ बजे पुनः काम शुरू गरेका हौं ।’ साउन २ गते बिहान ६ बजेदेखि पाइप निकाल्ने काम भइरहेका बेला बिहान ८ बजेतिर कोष नियन्त्रक मिश्र सहितको टोली कार्यस्थलमा पुगेको थियो ।
साउन २ गतेसम्म डीप ट्युबबेल निर्माणको काम भइरहेको अवस्थामा असार ३० गते नै कार्यालयले कार्यसम्पन्न भएको प्रतिवेदन तयार पारेर भुक्तानी आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पुगेको थियो । स्वीकार कन्स्ट्रक्शन एण्ड डीप ट्युबबेल प्रालिका सञ्चालकको खातामा १६ लाख १ हजार ८२८ रुपैयाँ भुक्तानीका लागि भुक्तानी आदेश प्राप्त भएको कोष नियन्त्रक मिश्रले बताए । ‘आर्थिक अनुशासन कायम गर्न भुक्तानी रोकर कामलाई यथास्थितिमा राख्न भनेको छु,’ मिश्रले भने । अब प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी उनले दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !