- काठमाडौं,साउन ८ गते बिहिवार ।।
- जनप्रभाब-सम्बादाता
तनहुँ जिल्लाका अधिकांश क्रसर उद्योग अवैध र गैरकानुनी रुपमा सञ्चालित छन्। ती अवैध र गैरकानुनी क्रसर उद्योगको अनुगमन तीव्र पारिएपछि प्रमुख जिल्ला अधिकारी ( सिडियो ) कै सरुवा भएको हो ।
गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गरिने त्रासले तनहुँका प्रजिअ अधिकारीको सरुवा भएको हो। जिल्लामा सार्वजनिक जग्गा नै अतिक्रमण गरी उद्योग सञ्चालन भइरहेका छन्।
‘अवैध तवरले क्रसर चलाउनेहरु विगतमा एलडिओ र सिडियो मात्रै नभई मन्त्री हेरफेर गर्न सक्छन्’, भन्ने भनाइ अहिले प्रजिअको सरुवासँगै सत्य सावित भएको जिल्लावासीले चर्चा गर्ने गरेका छन्।
दिनदहाडै ठुल्ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ चरम दोहन गरिने क्रसरहरुमा सांसदहरुकै संलग्नता रहेको चर्चा चलिरहेकै अवस्थामा प्रजीअ अधिकारी मन्त्रालय तानिएका हुन्।
अवैध क्रसर उद्योग बन्द गराएरै छाड्ने अठोट लिएका उनी अवैध क्रसर उद्योगमा अनुगमन गरी मेसिनहरु नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै मन्त्रालय सरुवा भएका हुन्।जिल्लाभरका अवैध क्रसरहरुको लिस्ट हातमा लिई बाँकी जिल्ला अनुगमन समितिको टिमसँगै क्रसरहरुको अनुगमनसँगै आक्रामक शैली देखेर विराेधीहरु उनको सरुवाको दौडधुपमा लागेको चर्चा अहिले जिल्लामा चल्न थालेको हो।
खासगरी सार्वजनिक जग्गामै अवैध क्रसर सञ्चालन गरेका राजनीतिक पहुँच पाएका ‘डन’हरु प्रजिअको कार्यशैलीको विरोधमा एक भएर लागेका प्राकृतिक स्रोत साधन संरक्षणमा लागेका अभियान्ताहरुले बताएका छन्।
गत चैत्र ५ गते तनहुँको सिडियोको जिम्मेवारी पाएका अधिकारीलाई ४ महिनामै मन्त्रालय तानिएको हो। निकै सरल मानिने अधिकारी लकडाउनका बेला केही असहज युवाका कारण ढलान गर्न नसकिएको र काम अवरुद्ध बनेको सुडेको पुल, आँबुखैरेनीस्थित मोटरेबल पुलमा सुरक्षाको टिमसहित गएर काम बढाएका थिए।
सरुवा भएसँगै अधिकारीको अवैध क्रसर बन्द गर्ने अभियान अपुरै हुने हो कि ? नयाँ सिडियोले त्यो सहास गर्लान् कि नगर्लान् भन्ने अडकलबाजी हुन थालेका छन्
फेसबुकबाट तपाईको प्रतिक्रिया !