- काठमाडौं, साउन ६ गते मंगलवार ।।
- जनप्रभाब-आलोक यादव
प्रहरी महानिरीक्षक ( IGP ) शैलेश थापा क्षेत्रीले कानुनको कार्यान्वयनमा नचुक्न र नझुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै आईजीपी थापाले उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी पेसागत कर्तव्य पूरा गर्न निर्देशन दिएका थिए ।
प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आमनागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने भन्दै उनले छिटोछरितो सेवा प्रवाहमा अग्रसर हुनुपर्ने बताए । अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी र प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै आइजीपी थापाले भने, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेसा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ ।’ कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले आईजीबाट प्राप्त निर्देशन सम्बोधन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी कर्मचारी एक्यबद्ध भई अगाडि बढेमा प्रहरीले गर्ने हरेक काम कारबाहीको गन्तव्य निर्धारणका लागि सहजता हुने उल्लेख गर्दै उनले थप व्यवसायिक क्षमता, लगनशीलताकासाथ नयाँ परिस्थिति र चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरु तयार रहेको बताए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायत उक्त कार्यालय मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !