- काठमाडौं ,असार २१ गते आइतबार ।
- जन प्रभाब-सम्बादाता
आज गुरु पुर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । याे असार शुक्ल पूर्णिमाकाे दिन पर्दछ ।
आज गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् । शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरी उपहार समेत दिने गरिन्छ । कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ। यसैले भनिएको छ –
गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ।
यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन्।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।
पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ ।
गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ।
द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !