- काठमाडौं ,असार १४ गते आइतबार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि आफुलाई हटाउने खेल सुरु भएको बताउनु भएको छ ।
उहाँले आफुलाई हटाउन बिभिन्न गतिविधिहरु सुरु भइसकेको र दूतावास पनि सक्रिय रहेको जिकिर गर्नु भएको छ ।
जबजका प्रवर्तक मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल सुरु भएपनि त्यो असम्भव रहेको बताउनुभयो ।
नेकपामा जारी स्थायी कमिटी बैठकमा आफुविरुद्ध लक्षित र उठेका धारणाहरुबाट निकै निराश देखिनु भएको प्रधानमन्त्री ओलीले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताउनुभएको छ ।
छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्र समेटेर नयाँ नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको उहाँले दाबी गर्नुभयो । अहिले आफूलाई हटाउनका लागि खुला दौडधूप भइरहेको उहाँको बुझाइन ।
नेपालको नयाँ नक्सा छापिएकोलाई अपराध भन्न थालिएको उहाँको भनाइ छ । सोही क्रममा आफूलाई हटाउनका लागि दूतावासको सक्रियता बढेको र होटलहरुमा गतिविधि बढेको पनि उहाँको ठहर छ ।
यसै क्रममा उहाँले नयाँ नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भएता पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताउनुभयो । त्यस्तै उहाँले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन नभएको तर, अहिले हट्ने हो भने भोलि अन्य कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने उहाँको ठहर छ ।
आफ्ना लागि नभएर देशका लागि र आजका लागि नभएर भोलिका लागि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने उहाँको भनाइ छ ।
यसबीच प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेकपा पार्टी र संसदीय दल पनि बहकावमा नकुद्ने पनि प्रष्ट पार्नुभयो । नेपालको नयाँ नक्सा भुलचुकले नछापिएको पनि उहाँको कथन थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !