वीरगञ्ज,जेठ २९ गते बिहिवार ।
बारा जिल्लामा लागूऔषधसहित एक जना पक्राउ परेका हो । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर-५ बस्ने २१ वर्षीय जीवनकुमार सर्राफ रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद भट्ट नेतृत्वको टोलीले गस्तीको क्रममा बिश्रामपुर गाउँपालिका वडा नम्बर–४ बलिरामपुरबाट उनलाई नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा पनि भारतबाट ना ५ प ३६९८ को मोटरसाइकलमा जबरजस्ती नेपाल प्रबेश गरेका सर्राफलाई चेकजाँच गर्दा उनको साथबाट नाइट्राभेट ट्याबलेट ५६ थान, नुभिन इन्जेक्सन ४ थान, डाइजेल्याब इन्जेक्सन ४ थान, फिनरागन इन्जेक्सन ४ थान, अनरेक्स ३ बोतल लागूऔषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए ।
पक्राउ परेको व्यक्तिको साथबाट भारतीय नागरिक अक्षयकुमार तिवारीको आधार कार्ड र तीन जना नेपालीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत बरामद भएको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपालले ४ दिनअघि बारा जिल्लाबाट १५ लाख रुपैयाँसहित अवैध रुपमा भित्र्याउँदै गरेको फेन्सी कपडा बरामद गरेको थियो ।
सिम्रौनगढ नगरपालिका अमरपुर नाकाको नहरचोकको बाटो हुँदै ल्याउँदै गरेको अवस्थामा नगदसहित कपडा बरामद भएको प्रहरी उपरीक्षकसुवेदीले बताए । कपडाको बजार मूल्य करिब ३३ हजार ५० रुपैयाँ रहेको छ । नगद र समान ल्याउने व्यक्ति भने फरार रहेको उनले बताए ।


















