नयाँदिल्ली,जेठ २६ गते । कोभिड–१९ का कारण विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई उद्धार गर्ने योजनाअन्तर्गत तेस्रो मुलुकबाट शुक्रबारदेखि नेपालीहरू फर्कन थालेका छन् । तर, रोजगारीको सबैभन्दा ठूलो गन्तव्य भारतमा रहेका नेपालीका लागि भने सरकारले कुनै ठोस योजना अघि सारेको छैन ।
भारतकाे गाजियाबादमा अलपत्र बलबहादुर साउदकाे परिवार ।
सरकारले भारतबाट फर्कनेहरूका लागि विभिन्न २० वटा नाका खुला गरिएको मात्र जनाएको छ । सरकारले भारतमा रहेका नेपालीहरूका लागि प्रस्ट योजना नल्याउँदा घर फर्कने दिन कुरिरहेका नेपालीहरूको सास्ती दिनप्रतिदिन बढ्दै गएको छ । लकडाउनका कारण रोजगारी गुम्दा धेरैलाई बस्नखान नै मुस्किल भएको छ । त्यसमाथि केही दिनयता भारतमा संक्रमण तीव्र रूपमा वृद्धि भइरहेकाले उनीहरूमा त्राससमेत बढाएको छ ।
बर्सेनि १५ देखि २० लाखको संख्यामा नेपालीहरू रोजगारीका लागि भारत आउने गरेका छन् । अध्ययन, उपचार, तीर्थयात्रा र अन्य प्रयोजनका लागि आउनेको संख्या पनि हजारौं छ । तीमध्ये कतिपय लकडाउनकै अवधिमा जसोतसो घर फर्किए पनि हाल ठूलो संख्या प्रवासी नेपालीहरू घर फर्कने दिन कुरेर बसेका छन् । सार्वजनिक सवारी साधन पर्याप्त मात्रामा नचल्दा दक्षिण भारतका केरला, चेन्नई, बेंग्लोरसँगै महाराष्ट्र र राजस्थानमा रहेका नेपालीहरू घर जान पाएका छैनन् । त्यसमाथि बस सञ्चालकले मौका छोपेर चर्को भाडा असुलिरहेका छन् ।
गुल्मी घर भएका नीलबहादुर विक एक वर्षदेखि दक्षिण भारतको केरलाको एउटा सपिङ मलको सैलुनमा काम गर्दै आएका थिए । तीन महिनादेखि बन्द सैलुनका साहूले असोजदेखि मात्र सैलुन खुल्ने जनाउँदै घर जाऊ भनिसकेका छन् । तर केरलामा लकडाउन खुकुलो भएखपनि त्यहाँबाट अन्य राज्यमा जाने सार्वजनिक यातायात नचलेकाले उनी अड्किएका छन् । लामो समयदेखि काम नहुँदा भएको पैसा पनि खानबस्नमै सकिएको छ । ‘काम पनि छैन, खर्च पनि छैन कसरी बाँच्ने चिन्ता बढ्दै गएको छ,’ विकले कान्तिपुरसँग भने ।
दिल्लीमै रहेका रौतहतका जकाउल्ला अन्सारीको सिलाइकटाइको काम पनि लकडाउनयता ठप्प छ । अरू बेला ट्रेनमा जाँदा बढीमा १८ सय भारु लाग्ने गरेकोमा केही सीमित मात्रामा चलेका बसहरूले बिहारको बैरगनियासम्मका लागि ३५ सय भारु तोकेका छन् । त्यसमाथि श्रीमती, छोराछोरी र भाइसमेत गरी ७ जनाका लागि भाडा जुटाउन उनले सम्भव देखेका छैनन् । लकडाउनमा कमाइ नहुँदा त्यसै पनि उनको थाप्लोमा ऋणको बोझ बढिसकेको छ । ‘चिनेजानेकाबाट रासनपानी सरसापट गरेर चलाएको छु, धन्न घरबेटी असल परेका छन्, भाडा काम सुरु भएपछि दिए हुन्छ भने,’ उनले भने । रेलयात्राका लागि भने आधार कार्ड चाहिने भएकाले उनी समस्यामा छन् । ‘पहिले कुनै दिक्कत थिएन, अहिले त टिकट नै पाइएन, बस्ने कसरी बस्ने, जाने कसरी जाने भएको छ,’ अन्सारीले गला अवरुद्ध पार्दै भने ।
तीन महिनाअघिसम्म पनि सुनसरीका राजकुमार मेहतालाई कामको चिन्ता थिएन । राजस्थानको बारमेरमा घर बनाउने काममा व्यस्त थिए उनी । कमाइ पनि राम्रै थियो । गाउँका अन्य तीन जनासँगै बस्थे । उता गाउँमा रहेका परिवारलाई पनि खासै चिन्ता थिएन । त्यसमाथि दिनहुँ फोनमा कुरा भई नै रहन्थ्यो । तर, लकडाउनका कारण परिस्थिति एकाएक फेरिएको छ । काम बन्द भयो । एकातिर संक्रमणको चिन्ता छँदै छ त्यसमाथि छाक टार्नै मुस्किल पर्न थालेको छ । दिन बित्दै जाँदा थप गाह्रो हुने हो कि भन्ने चिन्ता छ उनलाई । जेनतेन धानिरहेका छैनन् । तर, उनको खर्च सकिँदै गएको र कोरोनाको संक्रमण पनि बढ्दै गएका कारण उनमा छटपटी बढ्दै गएको छ । त्यही भएर जसरी भए पनि घर जाने निधो गरेका छन् । तर, पनि कुनै उपाय हात परेको छैन । उनी भारतमा काम गर्न आउन थालेको बीस वर्षभन्दा बढी भयो । सधैं साधारण क्लासमा यात्रा गर्दा उनलाई कुनै कागजात मागिएन । तर, केही दिनअघि टिकट काट्न गएका उनी भारतीय बाहेकका अरूलाई दिन मिल्दैन भनेर त्यत्तिकै फर्किए ।
करिब २८ सय किमिको दूरी पैदल जाने कुरा पनि भएन । गर्मीको मौसम । त्यसमाथि राजस्थान । ‘बसेको ठाउँबाट बाहिर निस्कन त गाह्रो छ अब हिँडेर जाने त कुरै भएन,’ उनले भने । तर, दिन बित्दै जाँदा टिकटका लागि जोगाएको पैसा पनि सकिन्छ भन्ने चिन्ता हुन थालेको छ । ‘न रेलको टिकट पाइन्छ न अन्य सवारी साधनमा जान सक्ने हैसियत छ यस्तै हो भने त भोलि के हुन्छ भन्ने छैन,’ मेहताले चिन्तित हुँदै भने । उता परिवारले गर्ने चिन्ता बेग्लै छ । ‘श्रीमती र बालबच्चाले अरू आइसके किन नआएको भनेर सोध्छन्, मैले के जवाफ दिनु हुन्छ ?’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !