काठमाडौं,जेठ २३ गते ।
नेपाल सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि खर्च गरेअनुसार कोरोना नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणका नाममा त्यति धेरै खर्च भए पनि कोरोना संक्रमण दर उल्टो वृद्धि हुँदै जान थालेपछि सरकारी खर्चको पारदर्शितामा प्रश्न चिन्ह सिर्जना भएको छ ।
सरकारले क्वारेन्टिन निर्माणदेखि परीक्षण, औषधि तथा राहतका लागि सो रकम खर्च भएको बताएको छ तर सरकारद्वारा निर्माण गरिएको अधिकांश क्वारेन्टिनको अवस्था दयनीय छ । न्यूनतम मापदण्डसमेत पुरा हुन नसकेपछि क्वारेन्टिनबाटै संक्रमण बढ्न सक्ने खतरासमेत देखिएको छ ।
हालसम्म कोरोना नियन्त्रणका लागि केन्द्रीय सरकारले ६ अर्ब ३ करोड, प्रदेश सरकारले १ अर्ब ८ करोड र स्थानीय सरकारले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका छन् । तर, सरकारले खर्चको फेहरित विवरण भने दिन सकेको छैन् । क्वारेन्टिनमा करोडांै रुपैयाँ खर्च भएको बताइए पनि धेरै ठाउँमा क्वारेन्टिन अस्तव्यस्त छन् भने नेपाल भित्रिने सीमानाकामा कोरोना परीक्षण नै भएको छैन । संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ फितलो भएको छ ।
सरकारी चिकित्सकको संख्या १ हजार ३ सय रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार २६ हजार ३ सय ४६ चिकित्सकहरू दर्ता भएका छन् । ती चिकित्सकलाई पनि सरकारले प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा जोखिम बढेको हो ।
– क्वारेन्टिन नै संक्रमणको स्रोत बन्दै, कोचिएर बस्नुपर्ने बाध्यता
– अधिकांश अस्पताल पूर्वाधारविहीन, चिकित्सक निकै कम
– सीमानाकामै भएन कोरोना परीक्षण
– लकडाउन लम्बिँदै, संक्रमित झन् बढ्दै
– कन्ट्याक्ट ट्रेसिङ, ट्र्याकिङ कछुवा गतिमा
सरकारले बनाएका क्वारेन्टिनहरू अस्तव्यस्त हुँदा कोरोना भाइरस संक्रमणको स्रोत नै क्वारेन्टिन बन्दै गएको पाइएको छ । क्वारेन्टिन भद्रगोल हुँदा संक्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले कोरोना रोकथाममा सरकारको तयारी फितलो रहेको बताए । उनले भने, ‘अहिले पनि अधिकांश अस्पताल भेन्टिलेटरविहीन छन् । कोरोना संक्रमितको संख्या बढ्दै छ । तर, सरकार अस्पताल पूर्वाधार विकासमा लागेको देखिएन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर ६१ हजार १ सय ४५ वटा क्वारेन्टिन् छन् । जबकि क्वारेन्टिनमा बस्नेहरूको संख्या १ लाख ६१ हजार २ सय ६२ पुगेको छ ।
क्वारेन्टिनमा बस्नेहरूका लागि पिउने पानीको समेत उपयुक्त व्यवस्था छैन । खाना पनि घरबाट ल्याएर आउनुपर्ने बाध्यता छ । क्वारेन्टिनमा बस्दै आएकाहरूले घरबाटै बस्ने सामान मगाउनुपर्ने र एउटै कोठामा कोचिएर बस्नुपर्ने बाध्यता छ । अधिकांश भारतबाट आएका नागरिकहरू क्वारेन्टिनमा बस्दै आएका छन् । क्वारेन्टिनमा बस्दै आएकाहरू अधिकांशको कोरोना परीक्षणसमेत नगरिएको पाइएको छ । १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टिनमा बस्दै आएका छन् । जबकि हालसम्म ८४ हजार १ सय ३४ जनामा आरटी पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।
कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा सम्भव भएसम्म घनाबस्तीबाट टाढा हुनुपर्ने उल्लेख छ । यस्तै, गर्भवती महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि अलग्गै क्वारेन्टिनको व्यवस्था गरिनुपर्ने समेटिएको छ । सम्भव भएसम्म शौचालय भएको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा तीन जनाको दरले ६ जनाका लागि साझा शौचालय, प्रतिसय जनाका लागि एक मेडिकल अधिकृत, क्वारेन्टिनमा २४ घण्टा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने उल्लेख छ ।
क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन समितिको संयोजक सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।
राजधानी दैनिक बाट
फेसबुकबाट तपाईको प्रतिक्रिया !