मकवानपुर । बागमतीमा पाँच दलिय गठबन्धनलाई भागवण्डा मिलाउन मन्त्रालय टुक्र्याइएपछि मन्त्रालयहरूलाई कार्यालय भवनको अभाव भएको छ । १५ मंसिरमा मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या बढाएर १४ पुर्याउने निर्णय गरेको थियो ।

मन्त्रालयको संख्या बढाइएसँगै कर्मचारीहरू भवन र मन्त्री तथा सचिवहरूका लागि क्वाटर खोज्न भौतारिएका थिए । हेटौँडामा मन्त्रालय राख्न सरकारी भवन अभाव भएपछि भाडाका घरमा राखिएको छ ।
प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एउटै भवनमा राखिएका छन् ।
बाग्मती प्रदेश सरकारले अस्वाभाविक रूपमा फुटाएपछि मन्त्रालय र कर्मचारी व्यवस्थापनमा आइपरेको संकटबीच एउटै घरमा पाँच मन्त्रालयसम्म अटाइए पनि कर्मचारी चरम अभाव छ । प्रदेशमा मन्त्रालय एक्कासि आठबाट टुक्राएर १४ वटा पु–याइएपछि कार्यालय अभाव भएकाले एकै भवनमा पााँच मन्त्रालय राखिएको हो ।
बाग्मती प्रदेश सरकारमा संलग्न दललाई चित्त बुझाउनकै लागि मन्त्रालय फुटाएपछि कार्यालय व्यवस्थापन गर्न धौधौ भएको छ । कतै एउटै भवनमा पाच वटासम्म मन्त्रालय राखिएका छन् त कतै भूकम्पले जीर्ण भवन रंगरोगन गरी चिटिक्क पारेर मन्त्रालय राखिएको छ । सरकारी भवन अभावपछि प्रदेश सरकारले केही मन्त्रालय भाडाका घरमा राखेको छ ।
संघीय, प्रदेश तथा स्थानीय सरकारले खर्च कटौतीका लागि बैंक, सहकारीलगायत ‘मर्ज’ नीति लिएर यसअनुसार ‘मर्जर’मा जाने संस्थालाई प्रोत्साहन गर्दै आएको छ । सरकारले नै नियमित खर्च धेरै गुण भार बढ्नेगरी मन्त्रालय फुटाएपछि समस्या देखिएको हो ।

















