लहान । बिहार रक्सौलको भेलाही सिमानाको कुकुहियाँ गाउँमा बिहीबार बिहान कपडा तस्कर र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच झडप भएको थियो ।

तस्कर समूहले एउटा पिकअप गाडी, ५ वटा ठेला र ४ वटा साइकलमा कपडा लोड गरी विहारको भेलाही नाका हुँदै अवैध रूपले नेपाल पठाउने क्रममा एसएसबीका जवानले नेपाल–भारत सिमानाभन्दा ५० मिटर भारततर्फ रोकेका थिए ।
३ जना तस्कर, २८ पोका कपडा, ठेला र बीआर ०६ जी ९७१९ नम्बरको पिकअप गाडीलाई एसएसबीले नियन्त्रणमा लिएपछि करिब चार दर्जनको संख्यामा आएका तस्करहरूले एसएसबीमाथि आक्रमण गरेको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन एसएसबीले हवाई फाइरिङसमेत गर्नु परेको थियो । झडपमा एसएसबीका ३ जना जवान घाइते भएका छन् ।
रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्सलगायतका सामान भित्रिन थालेपछि एसएसबीले विशेष निगरानी बढाएको थियो । ग्रामीण नाकाबाट भित्रिएको कपडा कारोबारीले वीरगन्जको गोदाममा भण्डारण गरी नारायणगढ, पोखरा, काठमाडौंलगायतका सहरमा पुर्याउने गरेका छन् ।
एसएसबीले पिक अप गाडी नियन्त्रणमा लिएपछि करिब ५० जनाको संख्यामा रहेका तस्कर समूह भेला भई आक्रमण गरेको भेलाही प्रहरी चौकी इन्चार्ज मनोज कुमारले जनाए । ‘एसएसबीलाई तस्करले घेरा हालेको सूचना पाउनासाथ हामी घटनास्थलमा पुगेका थियौँ,’ चौकी इन्चार्ज मनोज कुमारले भने, ‘पिकअप गाडी, ठेला र साइकलमा लोड भएको ३८ पोका कपडासहित ३ जना तस्करलाई समेत नियन्त्रणमा लिइएको छ ।’
एसएसबीका कमान्डेन्ट विकास कुमारले आत्मरक्षाका लागि जवानले हवाई फायर खोलेको प्रतिक्रिया दिएका छन् । विहार भेलाहीका धर्मवीर चौरसिया, सन्दीप कुमार र मुसहरवाका अखिलेश कुमारलाई नियन्त्रणमा लिइएको एसएसबीले जनाएको छ । उनीहरूमाथि सरकारी कार्यमा वाधा पुर्याएको, हतियार खोसेको, एसएसबीमाथि आक्रमण गरेको आरोपमा नियन्त्रणमा लिई विहारको पूर्वी चम्पारण पलनवा थानाको जिम्मा लगाइएको एसएसबीका कमान्डेन्टले जनाएका छन् । नियन्त्रणमा लिएको ३८ पोका कपडा, पिकअप गाडी, ठेला र साइकललाई शुक्रबार मोतीहारी भन्सार कार्यालयमा बुझाइएको छ ।
एसएसबीका सबइन्सपेक्टर दीपक दारा, जवान मोहित धुर्वे, चिंटीकला बरहालु घाइते भएका छन् ।
बिहीबार बिहानै भेलाहीको भेलवा रेल्वे स्टेसननजिकै हरिओम म्यारिज कम्पलेक्स अगाडि नेपालतर्फ आइरहेका ४ वटा पिकअफ गाडीमा लोड भएको अवैध कपडा पटना कस्टम र एसएसबीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । चारवटै पिकअप गाडी र कपडा थप अनुसन्धानका लागि मोतीहारी कस्टमको जिम्मा लगाइएको एसएसबीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !