वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल छिन्नमास्ता बाहिनी मुख्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ५३ करोड ८५ लाख १८ हजार ५८० रुपैयाँ बराबरको अवैध सामान भन्सार दाखिला गरेको छ । मधेश प्रदेशका ८ जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको अवैध सामाग्री भन्सार दाखिला गरिएको छिन्नमास्ता बाहिनीका बाहिनीपति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।

डिआईजी मगरका अनुसार सोही अवधिमा १ करोड ५२ लाख ९८ हजार ३९० रुपैयाँ बराबरका अवैध पशु चौपाय भन्सार दाखिला गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेका चौपाय प्रदेशका विभिन्न स्थानबाट बरामद गरी भन्सार दाखिला गरिएको डिआईजी मगरले जानकारी दिए ।
१ करोड ३९ लाख ३० हजार ९७२ रुपैयाँ बराबरको ४ हजार ३५२.८८ क्यूबिक फिट काठ पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । बाहिनी मातहतका विभिन्न सशस्त्र प्रहरी बल एवम् बिओपीहरुको टोलीले जिल्लाका विभिन्न स्थानबाट उक्त परिणामबराबरको काठ बरामद गरेको हो ।
मधेश प्रदेशका आठै जिल्लाबाट सशस्त्र प्रहरीले २ हजार ३८४.९५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गर्नुका साथै ६० विघा १७ कट्ठा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा पनि फडानी गरिएको छ । ३१.९२ किलोग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले १७३ मिलिग्राम ब्राउन सुगरसहित ३७ हजार ५२१ पिस प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले उपलब्ध गराएको तथ्यांकअनुसार सोही अवधिमा २६ लाख ९८ हजार ७५७ रुपैयाँ बराबरको सुनचाँदी बरादम गरिएको छ । अवैध रुपमा ल्याइएको १७ लाख ५९ हजार ७०१ भरतीय मुद्रा र २ करोड ५४ लाख १२८ नेपाली मुद्रा बरामद गरिएको तथ्यांकमा उल्लेख छ ।
७ लाख १४ हजार ५ सय बराबरको जाली नोट र ३३ लाख ९० हजार नक्कली पैँसा बनाउने कागम पनि बरामद गरिएको डिआईजी मगरले जानकारी दिए । मगरका अनुसार १ हजार ३८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।
बेचबिखनमा परेका ४६ जना चेलीबेटीको उद्धारसमेत गरिएको छ भने विभिन्न अपराधिक गतिविधिमा संलग्न २१३ जनालाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइएको डिआईजी मगरले बताए । चालु आर्थिक वर्षमा सबै गरेर अर्बाै बराबरको राजस्व दाखिला गर्न सफल भएको डिआईजी मगरको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !