- वीरगञ्ज,असार १२ गते शुक्रबार ।
सशस्त्र प्रहरी बलको भिस्वास्थित बिओपीले गतआइतवार ६ लाख रूपैयाँ नेपालीसहित एक जनालाई नियन्त्रणमा लिएको कुरा सार्वजनिक ग¥यो । यसअघि पनि सोही बिओपीले २२ लाख नेपाली रकमसहित एक जनालाई पक्राउ गर्न सफल भएको थियो ।
आइतवार ६ लाख नेपाली रूपैयाँ बेवारिसे अवस्थामा पक्राउ गरेको प्रहरीले सार्वजनिक ग¥यो । भारत बिहारको सिक्टाबाट नेपाल प्रवेश गरी भित्रँदै गरेका व्यक्ति सीमामा सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले ल्याएको झोला छोडी भागेको र उक्त झोला खानतलासी गर्ने क्रममा ६ लाख नेपाली रूपैयाँ बरामद भएको सो बिओपीका निरीक्षक हरि पराजुलीले जानकारी गराएका थिए । ती व्यक्ति को हुन् भन्ने कुरा प्रहरीलाई थाहा नभए पनि उक्त रकम हुण्डीको हो भन्ने कुरा चाहिँ पुष्टि भएको छ ।
लकडाउनका समयमा नेपाल भारत सीमा क्षेत्र सिल गरिएको अवस्थामा पनि हुण्डीको कारोवार ठूलो मात्रामा भइरहेको कुरा भिस्वास्थित सशस्त्रको बिओपीले एक पटक ६ लाख र त्यसअघि २२ लाख रूपैयाँ बरामद गरेको घटनाले पनि पुष्टि हुन्छ । उक्त रकम भिस्वाकै हुण्डी कारोवारी मोहन ठाकुरको भएको खुलेको छ । भिस्वा घर भएका मोहन ठाकुर लामो समयदेखि हुण्डी कारोवारमा संलग्न व्यक्ति हुन् । उनले मियाँ थरका दुई जना व्यक्तिलाई साझेदारका रूपमा राखेर लामो समयदेखि भिस्वा क्षेत्रबाट हुण्डीको कारोवार संगठितरूपमा गर्दै आएका थिए ।
लकडाउनका समयमा पनि उनको यो कारोवार राम्रोसँग चलिरहेको अवस्थामा हुण्डीको रकम बोक्नेहरूले सावधानी नअपनाउँदा २ पटकसम्म हुण्डीको रकम पक्राउ परेको बताइन्छ । २ पटक गरी २८ लाख रूपैयाँ हुण्डी कारोवारी मोहन ठाकुरको पक्राउ परिसकेको छ । तर, भिस्वामा भने मोहन ठाकुरले नजिकका व्यक्तिहरूसँग ९ लाख रूपैयाँ भएको बताउँदै प्रहरीले बरामदका क्रममा ३ लाख रूपैयाँ लुकाएर ६ लाख रूपैयाँमात्रै देखाएको सार्वजनिक गरेपछि यो प्रश्न अहिले सशस्त्र प्रहरीमा चर्चा र छानविनको विषय बनेको छ । स्मरणरहोस् मोहन ठाकुर लामो समयदेखि हुण्डी कारोवारीका रूपमा वीरगञ्ज त्यसमा पनि विशेष गरेर भिस्वा क्षेत्रमा चर्चित व्यक्तिका रूपमा चिनिन्छन् ।

















