कर्णाली ,जेठ ३० गते शुक्रबार ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले महामारी र भोकमरीबाट बच्ने तथा रोजगारी बढाउने विषय एकसाथ लिएर अघि बढ्ने बताएकी छिन् । कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको आज बसेको ११औंँ बैठकमा प्रदेशसभा सदस्यले उठाएका सार्वजनिक सरोकारका विषयको जवाफ दिँदै मन्त्री केसीले रोजगारीका लागि उत्पादनका कामलाई अघि बढाउन र कर्णाली प्रदेशमा बाँझो रहेको १८ प्रतिशत खेतीयोग्य जमीन उपयोगमा ल्याउन प्रदेश सरकार अघि बढेको बताइन् ।

बैठकमा प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभाका सभामुखसँग जोडिएर विभिन्न अनलाइनमा आएका समाचारले गरिमामय संसद्लाई सोच्न बाध्य बनाएको बताए । प्रदेशसभा सदस्य अमरबहादुर थापा, हिमबहादुर शाही, धर्मराज रेग्मी र सोशिला शाहीले कोरोनाको महामारीले समस्यामा परेका नागरिकको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

















