- सुनसरी ,भदौ ८ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
सुनसरीमा कोरोनाबाट कुल संक्रमित पुनः स्वास्थ भई घर फर्किने दर झण्र्डै ४४ प्रतिसत रहेको तथ्यांकले देखाएको हो । स्वास्थ्य कार्यालय सुनसरीले सार्वजनिक गरेको तथ्यांकमा अहिलेसम्म ४३ दशमलव ९ प्रतिशत कोरोना संक्रमित स्वास्थ भई घर फर्किएको उल्लेख छ ।
जिल्लामा अहिलेसम्म १६ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये ४ सय ३३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छन भने १ सय ९० जना उपचार पछि स्वास्थ भएर घर फर्किएका छन ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा संक्रमित हुने दर प्रति एक हजार जनसंख्या बराबर ० दशमलव ४९ प्रतिशत रहेको छ । जिल्लामा अहिलेसम्म २ जनाको मात्र मृत्यु भएको छ । अर्थात मृत्युदर ० दशमलव ४६ प्रतिशत रहेको छ ।
कार्यालयले जारी गरेको तथ्याङकमा अहिलेसम्म सुनसरीमा पीसीआर परिक्षण गरिएका मध्ये कोरोना पोजेटिभ भेटिने दर २ दशमलव ५७ प्रतिशत रहेको उल्लेख छ । प्रति एक हजारमा परीक्षण दर भने १९ जना रहेको कार्यालयले जनाएको छ ।
कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार सुनसरीमा कुल जनसंख्या ८ लाख ८८ हजार ७ सय ३० मध्ये अहिले सम्म १६ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
सबैभन्दा बढी धरानमा ५ हजार ३ सय ७९ जनाको परीक्षण गरिएको छ । जहाँ संक्रमितको संख्या १ सय १४ छ । धरानमा २ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी इटहरीमा ३ हजार ५२ जनाको परीक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि भएको छ । बराहक्षेत्रमा ७ सय ५९ जनाको परीक्षण गरिएको छ । त्यहाँ १२ संक्रमित रहेका छन् । इनरुवामा १५ सय ८ जनाको परीक्षण गर्दा १५ जना कोरोना पोजेटिभ पाइएका छन् ।
त्यसैगरी दुहवीमा १३ सय ६७ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको छ । रामधुनीमा ८ सय १४ जनाको परीक्षण गर्दा संक्रमितको संख्या २५ पुगेको छ । कोशी गाउँपालिकामा ९ सय १७ जनाको पीसीआर परीक्षण भएको छ । कोशीका २९ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै हरिनगरमा ७ सय १४ को परीक्षण गर्दा ३४ जना संक्रमित रहेका छन् ।
भोक्राहा नरसिंहमा ४ सय ६१ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भोक्राहाका २० जनामा संक्रमण पुष्टि भएको छ । देवानगञ्जमा ६ सय ३३ जनाको परीक्षण गर्दा १५ जना संक्रमित भेटिएका छन् । गढीमा ५ सय १६ जनाको कोरोना परीक्षण गर्दा ११ जना र बर्जुमा ७ सय ४६ जनाको पीसीआर टेष्ट गर्दा १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा संक्रमित दर बढ्दो क्रममा रहेको भएपनि निको हुने दर त्यो भन्दा बढी रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार कोेरोनाको जोखिम बढेसँगै समुदायस्तरमा पीसीआर परीक्षणको दायरा समेत बढाइएको छ ।
उनले विश्वमै संक्रमण र मृत्यु भन्दा निको हुने दर बढी रहेकाले आत्मविश्वास दरो बनाई सावधानी अपनाउन सके कोरोनालाई सहजै परास्त गर्न सकिने बताए । उनले सामाजिक दुरी र सावधानी भने निरन्तर जरुरी रहेको बताए । प्रसाईले स्वस्थ खानपिन र नियमित व्यायामसँगै चिन्ता मुक्त रहन जिल्लावासीलाई आग्रह समेत गरेका छन् ।

















