काठमाडौं। पैसा नभएर अवकाश कर्मचारीको पेन्सन रोकेको सरकारले बहालवाला कर्मचारीलाई तलब ख्वाउन २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।सरकारले नेपाल राष्ट्र बैंकमार्फत सोमबार २० अर्ब रपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको हो।

यसबाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण पनि गर्दैछ। तत्काल तिर्ने अवस्था नभएकाले उसले नवीकरण गर्न खोजेको हो।
सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ। २८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण गर्दैछ।
अघिल्लो पटक २८ दिनेको ब्याज ८.३३ प्रतिशत, ९१ दिनेको ९.६३ प्रतिशत, १८२ दिनेको ९.६५ प्रतिशत र ३६४ दिने ९.५५ प्रतिशत ब्याजदर कायम भएको थियो।

















