काठमाडौं । जनमत पार्टीबाट उपराष्ट्रपति उम्मेदवारमा खडा भएकी ममता झाले भ्रष्टाचारको मुद्दा खेपेको पाइएको छ । उनले भ्रष्टाचार मुद्दामा सफाइ पाएको दावी जनमत पार्टीका नेताहरुले गरेका छन् । झा भ्रष्टाचार मुद्दामा परेपछि साझा प्रकाशनको महाप्रबन्धबाट निलम्बनमा परेकी थिइन् ।

आफूविरुद्धका उजुरीका कारण पटक-पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर सफाइ दिएको कुरा राजीनामा दिने क्रममा उनी स्वयंले बताएकी थिइन् ।
२०७० सालमा साझा प्रकाशनका कर्मचारीले झालाई प्रवेश निषेध गर्दै आन्दोलन गरेका थिए । एक प्रतिवेदनले झा अध्यक्ष भएका बेला सरकारले साझाको केन्द्रीय भवन बनाउन दिएको रकम घोटाला भएको औँल्याएको थियो । अख्तियारले छापा मारेर भवन निर्माणसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएपछि उनले राजीनामा दिएकी थिइन् । झाले साझा प्रकाशन डुबाएको भनेर विभिन्न साहित्यकारहरूले समेत आन्दोलन गरेका थिए ।
साझाको भवन बनाउन रकम नपुगे पनि उनले आफ्ना लागि ८० लाखको गाडी किनेकी थिइन् । पहिले उनी सद्भावना पार्टीमा थिइन् । अहिले जनमत पार्टीकी सप्तरी इन्चार्ज छिन् । विवादित पृष्ठभूमिकी उनै झाले अहिले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी छन् ।
उपराष्ट्रपति पदमा उम्मेदवार हुने व्यक्तिको योग्यतामा उच्च नैतिक चरित्र भएको हुनुपर्ने समेत कानूनी व्यवस्था रहेको छ । भ्रष्टाचार मुद्दालाई नैतिक पतन जनिने कसूर मानिन्छ । सो अभियोग अन्तिम अदालतबाट प्रमाणित भएमा कुनै पनि पदमा उम्मेदवार बन्न पाइदैन ।
