काठमाडौं । सरकार गठनका लागि कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ । शुक्रबार र शनिबार कांग्रेसले हस्ताक्षर संकलन गरेको हो ।

हस्ताक्षर संकलन भइरहेको कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको एक सांसदले शिलापत्रलाई जानकारी दिए ।
शनिबारको बालुवाटारमा भएको सांसद भेलामा हस्ताक्षर गरिसकेका सांसदलाई भने बोलाइएको छैन । शुक्रबार हस्ताक्षर संकलन सुरु भएको र शुक्रबार अनुपस्थित सांसदलाई शनिबार बालुवाटार बोलाएर हस्ताक्ष संकलन गरिएको हो ।
कांग्रेसले आफ्नो पार्टीका सांसदको हस्ताक्षर संकलन गरे पनि सत्ता गठबन्धनमा सरकारको नेतृत्वबारे कुरा मिलिसकेको छैन । प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले दाबी गरिरहेका छन् ।
८९ सिट जितेर कांग्रेस सबैभन्दा ठूलो दल बने पनि सरकार गठनका लागि बहुमत (कम्तीमा १३८ ) सिट आवश्यक हुन्छ । गठबन्धनकै बहुमत छैन । गठबन्धनमा सहमति नहुँदा अन्य पार्टीहरूसँग पनि वार्ता भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरूलाई दिएको सात दिनको समय आइतबार पाँच बजे सकिँदैछ ।
