काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा सोझै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नपाउने भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखराको ग्राउन्ड ह्यान्डिलिङ आफैंले गर्ने बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङ सेवा वायुसेवा निगमले दिइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अहिलेसम्म निगमले नै यो काम गरिररहेको छ ।
अब पोखरा विमानस्थल चलाउने तयारी हुँदै गर्दा प्राधिकरणले फरक किसिमबाट अघि बढ्ने बताएको हो ।प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार ग्राउन्ड हृयान्डिलिङका धेरै विवाद भएसँगै अब प्राधिकरण आफैंले यस्तो सेवा चलाउने निर्णय भएको हो । ‘यो प्राधिकरण आफैंले चलाउँछ, वा प्रतिस्पर्धामा निर्णय हुन्छ,’ उनले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रतिस्पर्धाका आधारमा यस्तो सेवा दिनेबारे निर्णय हुने उनले जानकारी दिए ।पछिल्लो समय हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलमा आफैं र गौतमबुद्धमा व्यापारिक ग्राउन्ड ह्यान्डिलिङ सेवा दिनु पर्ने माग गरेको छ । महानिर्देशक अधिकारीका अनुसार भैरहवामा समेत प्रतिस्पर्धाका आधारमा मात्र यसबारे निर्णय हुनेछ ।

