काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्त्व आफूले गरेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए ।
अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरूले कहिल्यै पनि भुल्न नहुने पटकपटक दोहोर्याए । अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई चुनौती दिए । तर चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बास्तोलाले नमिल्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा समेत राखे ।
