काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरजप्रताप सिंहले दबाब र प्रभावमा नपरीकन अपराध अनुसन्धानको क्षेत्रमा काम गर्न प्रहरीहरूलाई निर्देशन दिएका छन्।

बिहीबार प्रहरी प्रधान कार्यालयले प्रदेश १ मा आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’लाई सम्बोधन गर्दै सिंहले अपराध अनुसन्धानको एकल दायित्व प्रहरीमा भएको बताए।
उनले अनुसन्धानको एकल दायित्व बोकेको संगठनका सदस्यहरू दक्ष, सक्षम, निडर र निर्भय हुन जरुरी रहेको बताए।
‘कुनै पनि प्रभाव र दबाबमा नपरीकन अपराध अनुसन्धान गर्नुहोस्,’ सिंहले भने, ‘प्रहरीको कार्य कौशलता अनुसन्धानबाट देखिनुपर्छ।’सिंहले पीडितले न्याय महसुस गर्ने गरी अपराध अनुसन्धान गर्नुपर्ने बताए।
कोभिड १९ का कारण रोकिएको यस्तो गोष्ठी तीन वर्षपछि आयोजना गर्न सुरू गरिएको भन्दै सिंहले समाजमा नयाँ प्रविधिको विकाससँगै अपराधको ट्रेण्डमा फरक आएको बताए।
साइबर अपराध अनुसन्धानमा प्रहरीलाई अझै पनि चुनौती रहेको उनले बताए। ‘साइबर ब्युरोको अनुसन्धान काठमाडौंबाट मात्र सम्भव भइरहेको छ, यसलाई विकेन्द्रित गर्न प्रादेशिकस्तरमा एउटा बेञ्चसम्म राख्नुपर्ने जरुरी देखिएको छ,’ उनले भने, ‘मुद्दामामिलाका क्रममा सधैं राजधानी धाउनुपर्ने बाध्यता छ।’
सिंहले यस्ता गोष्ठीमा एक जिल्लाले प्रयोग गरेका प्रयासहरू अर्को जिल्लाले आदान-प्रदान गर्नुपर्ने बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले समय, परिस्थिति, बानी, व्यहोरासँगै अपराधको प्रवृत्ति पनि फरक ढंगले प्रस्तुत भएर आउने बताए। उनले एउटै ढाँचाबाट मात्र अपराध अनुसन्धान गर्न कठिन हुने भएकाले अपराधसँग जुध्न अनुसन्धानमा नयाँ-नयाँ प्रविधिको विकास गर्नुपर्ने बताए।
प्रहरी नजिकको साथी र आपतको साथी भएको भन्दै उनले अपराध अनुसन्धानमा सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।
प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले प्रविधिको विकाससँगै अपराधमा नयाँ-नयाँ अभ्यास भइरहेको बताए। उनले धेरैजसो अपराध पैसाका कारण हुने गरेको विगत सम्झँदै अहिले ९० प्रतिशत अपराध चिनेको, नजिकको, छिमेकीबाट हुने गरेको बताए।
उनले यौनजन्य अपराधमा शिक्षक र छिमेकीको संलग्नता बढी देखिन थालेको बताए।
‘रामायण पढ्ने मान्छे रामपथमा जानुपर्ने हो, यहाँ उल्टो रावरणपथमा गइरहेको अवस्था छ,’ उनले भन। सुवेदीले विदेशी मुलुकमा बसेर अपराध गर्नेहरूको संख्या पनि उल्लेख्य रहेको बताए।
एक दिने उक्त गोष्ठीमा प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक, एसएसपीहरू, प्रदेश १ का १४ वटै जिल्लाका प्रमुख तथा अपराध अनुसन्धान शाखाका प्रहरीहरू सहभागी छन्।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भीम ढकाल, सुदीप गिरी, उच्च सरकारी वकिलको कार्यालय विराटनगरका सह-न्यायाधीवक्ता कोषहरि निरौला, रजिष्ट्रार जितेन्द्र थपलिया, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतले अपराध अनुसन्धानमा हालको अवस्था र चुनौतीबाट धारणा राखेका थिए।

















