
जनकपुरधाम , जेठ १५ गते बिहिवार । प्रदेश नं.२ मा १३ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहीबार सप्तरीमा थप एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित प्रहरी बोदेबर्साइन नगरपालिकाको चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिरहेका थिए ।
यसअघि पनि सप्तरीका एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिए । बुधबार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाप्रसाद चतुवेर्दीको सुरक्षागार्ड र चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो ।
संक्रमित ति दुबैजना अहिले धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा उपचाररत छन्। एसपी चतुर्वेदी भने होम आइसोलेसनमा बसेका छन् ।

त्यस्तै,प्रदेश २ को बारामा सबैभन्दा बढी ७ जना प्रहरी कोरोना संक्रमित भेटिएका छन् । धनुषामा पनि २ जना प्रहरी कोरोना संक्रमित भएका छन्। प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी धीरजप्रताप सिंहले सतर्कता अपनाउन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

