धनगढी । भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् ।

लमिछानेलाई प्रहरीले काठमाडौंको त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीले १०/१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएपछि धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बुधबार मात्र प्रेस विज्ञप्ती मार्फत सो सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।
उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीले दाबी गरेको थियो । उनीसँगै पक्राउ परेका अन्यको परिचय भने अझै खुलाइएको छैन ।

















