काठमाडौँ। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको बजेटमा समावेश विषयलाई तदारुकताका साथ अघि बढाउने भएको छ।बोर्डले एक अर्ब रुपैयाँभन्दा बढी पुँजी र वार्षिक पाँच अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरणका साथसाथ सर्वसाधारणलाई समेत सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत हुने व्यवस्था गर्ने जनाएको छ।

जेटमा उल्लेख्त प्रकृतिक स्रोत उपयोग गर्ने तथा राज्यबाट अनुदान, कर छुट र सहुलियत प्राप्त गरेका पब्लिक लिमिटेड कम्पनीलाई पनि बोर्डले सार्वजनिक सेयर निष्काशन गरी सूचीकृत गराउने बताएको छ। यस्ता कम्पनीको धितोपत्रको सार्वजनिक निष्काशनका लागि कम्पनी ऎन, २०६६ मा सुधार गर्ने र कम्पनी रजिष्ट्रारको कार्यालयसँग आवश्यक समन्वय गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ।
कम्पनी ऎनमा सुधार भएलगत्तै सोहीअनुरुप धितोपत्र निष्काशन सम्बन्धी कानुनमा पनि सुधार गर्ने सोच बोर्डको छ। यस्तै, बोर्डले वास्तविक क्षेत्रका तथा अन्य क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा सूचीकरण गर्न आवश्यक नीति, कार्यविधि तथा प्रविधिको व्यवस्था पनि मिलाउने जनाएको छ।

