काठमाडौं। अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा रहेको मानव संशाधन विभागमा हाजिर भएर एआईजी पोखरेलले मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्।

सरकारले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी)मा बढुवा गरेसँगै असन्तुष्टि जनाउँदै सर्वोच्चमा हालेको रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिएका हुन्।
सरकारले सिंहलाई आईजीमा बढुवा गरेपछि पोखरेलले वैशाख १९ गते अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको थियो। पोखरेलको अवकाश मिति साउन २० गते भएकाले उक्तको अन्तिम फैसला नै चाँडो गर्नुपर्ने भन्ने आदेश दिएको थियो।
सोही अनुसार उक्त मुद्दाको कामु प्रानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भएको थियो। कार्की र चुडालको शुक्रबारको इजलासले पोखरेलले दायर गरेको रिट नै खारेज गर्ने निर्णय गरेको हो।
प्रतिस्पर्धी बिना ‘चोर बाटो’बाट दरबन्दी थपेर एआइजीमा बढुवा भएपछि उनलाई भावी आइजीपीको रुपमा हेरिएको थियो। नेकपा सरकारको पतन र गठबन्धन सरकारको उदयसँगै भावी आइजीपी भनिएका उनै विश्वराज आइजीपी नभई बदनामी लिएर संगठनबाट बिदा हुन बाध्य भएका छन्।

















