झापा । खुलेआम तेस्रो मुलुकबाट झापाको मेचीनगर नाका हुँदै सुख्खा सुपारी तस्करी भइरहेको छ।

मेचीनगरको काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरीङ लगायतको नाकाबाट हुने सुपारी तस्करी केही समयका लागि रोकिएपनि फेरि सुरु भएको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अवैध सुपारीसहित एउटा सवारी नियन्त्रणमा लिएको छ। मेचीनगर– ५ स्थित तिरिङ–काँकडभिट्टा सडक खण्डमा शनिवार बिहान पौने ११ बजे मे १ च ४९८० नम्बर को पिकअप गाडी चेकजाँच गर्दा करिब ७ सय केजी अवैध सुपारी बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए।
बिना कागजात तिरिङतर्फ लैजाने क्रममा अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरकाे सुपारी बरामद गरिएको डिएसपी महतोले जानकारी दिए।
बरामद गरिएको सुपारी, गाडी र गाडी चालक ४८ वर्षीय दानबहादुर पोखरेललाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको उनले बताए।
चार दिनअघि मात्र मेचीनगर– ६ स्थित तुर्केनी नाकाबाट भारतीय महिलाले सुपारी बोकेर भारत लैजाने क्रममा सशस्त्र र नेपाल प्रहरीबीच विवाद भएको थियो। ड्युटीमा रहेका सशस्त्र प्रहरीले पठाउन खोजेको सुपारी नेपाल प्रहरीले छेक्न खोज्दा दुवै पक्षबीच विवाद भएको थियो। तर, दुवै प्रहरीले भने कुनै विवाद नरहेकाे बताएका थिए।

