काठमाडौं । ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा प्रहरीले काठमाडौंको बौद्धस्थित प्लानिङबाट सुभाष भेटवाललाई पक्राउ गरेको छ । भेटवाल तेह्रथुमको आठराईका हुन् ।

२०७८ असोजमा भेटवालले बानेश्वरमा रहेको ‘९९ आना’ नामको घरजग्गा अफिसमा बोलाएर सिन्धुलीका राजकुमार बराललाई जुवा खेल्न आग्रह गरेको र हस्ताक्षर गरेको चेक भरेको आरोप छ । भेटवाल विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।
आफुलाई अखाद्य पेय पदार्थ खुवाएर भेटवालले ‘आपराधिक विश्वासघात’ गरेको बरालले बताउँदै आएका छन् । प्रहरी प्रधान कार्यालयले घटना छानविन गरेर भेटवालविरुद्ध मुद्दा दर्ता गरेर कानुनी कारवाही गर्न काठमाडौं प्रहरीलाई निर्देशन दिएको थियो ।
भेटवाललाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

















