वीरगंज। सुक्खा बन्दरगाहबाट भित्रिएको एउटा कन्टेनरमा दालको कन्टेनरभित्र विदेशी चुरोट भेटिएको छ। जेठ १३ गते दुबईबाट भारतसम्म जहाजमा र भारतबाट रेलमार्ग भई वीरगंजमा आइपुगेको यो कन्टेनरबाट १७ सय ७४ बोरा मुङको दाल पनि बरामद भएको छ।

काठमाडौंको कालिका इन्टरप्राइजेजले दुबईबाट आयात गरेको मासको दालको कन्टेनरबाट करिब चार सय कार्टुन (५० लाख खिल्ली) विदेशी चुरोट बरामद भएको भन्सारका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए।भन्सार कर्मचारीले कन्टेनर खोल्दा अगाडि दालको बोरा चाङ लगाएर राखिएको थियो, पछाडिपट्टि चुरोटको कार्टुन लुकाइएको थियो।
भन्सार कार्यालयले मुचुल्का उठाएर कन्टेनरलाई सिल गरेको छ। आयातकर्तालाई पत्राचार पनि गरिसकेको छ। तर आयातकर्ता सम्पर्कविहीन रहेको न्यौपानेले बताए। भन्सार ऐनविपरीत आयात गरिएकाले करीब १० करोड जति जरिवाना तिराउने भन्सार कार्यालयको तयारी छ। ड्राइपोर्टमा यस्तो घटना पहिलोपटक भएको उनले जानकारी दिए।सन् २००४ देखि सिर्सिया सुक्खा बन्दरगाह सञ्चालन भएपछि सरकारले मालसामान स्क्यान गर्ने मेसिन ल्याए पनि प्रयोगमै नआइ लामो समयदेखि थन्किएको छ। अन्य सामानसँगै चुरोट बरामद भएपछि अहिले सबै कन्टेनरलाई सूक्ष्म ढंगले चेकजाँच गरिँदैछ।
श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा विगत एक वर्षदेखि करीब साढे सात करोड रुपैयाँ बराबरको केराउ थन्किएको छ। भन्सारका अनुसार, ३३ कन्टेनर हरियो केराउ थन्किएको हो। कागजात नपुग्दा आयातकर्ताले ती सामग्री छुटाउन नसकेको भन्सार अधिकारीहरुले बताएका छन्। काठमाडौं महानगरपालिका–१४ कुलेश्वरको अरिहन्त ट्रेडर्स सप्लायर्सले यो केराउ आयात गरेको हो।
२०७७ चैत ३१ गतेको पत्र अनुसार, वाणिज्य मन्त्रालयले आयातकर्तालाई २ हजार टन केराउ, २ सय टन छोकडा र ५ सय टन नधुलाएको मरिच आयात गर्ने अनुमति दिएको थियो। क्यानडाबाट हिँडेको मालसामान विशाखापट्टनम हुँदै रेलमार्गबाट वीरगंज आउन ढिलाइ हुँदा छुटाउन समस्या भएको बताइएको छ।वाणिज्य मन्त्रालयको पत्रमा आव २०७७/०७८ अर्थात् २०७८ असार मसान्तभित्र जाँचपास गराइसक्नुपर्ने व्यवस्था थियो तर कोरोना महामारीको कारण सीपमेन्टमा ढिलाइ हुँदा सामान आव २०७८/०७९ मा वीरगंजको ड्राइपोर्ट भन्सारमा पुगेको थियो।
आयातकर्ताले राजस्वको रकम बुझाएर छुटाउने प्रयास गरेका थिएनन्। पाँचवटा कन्साइनमेन्टमा गरी करीब ३३ कन्टेनर केराउ अड्केको हो।एउटा कन्टेनरमा २२ लाख ५१ हजार ४ सय मूल्य बराबरको केराउ रहेको बुझिएको छ। केराउमा नेपाल सरकारले १० प्रतिशत भन्सार महशुल मात्र लिने नियम छ। यसरी ३३ कन्टेनरको हिसाब निकाल्ने हो भने सात करोड ४२ लाख ९६ हजार २ सय मूल्य बराबरको सामान अड्केको हो।

