काठमाडौं । नेपाल आयल निगमले पैसा अभाव भएकाले इन्धनको आपूर्तिमै समस्या देखिन सक्ने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै निगमले बक्यौता बढ्ने तर मूल्य समायोजन पनि आवश्यकताअनुसार नहुँदा निकट भविष्यमै पेट्रोलियम आपूर्तिमा समस्या आउन सक्ने जनाएको हो।

पत्र मार्फत खपत कम गर्नका लागि १० बुँदे सुझाव पनि दिइएको छ। सवारी साधनमा जोरबिजोर लागू गर्नुपर्ने, पेट्रोलबाट चल्ने सवारीलाई एकपटकमा ५ लिटरको कोटा तोक्नुपर्ने, सार्वजनिक विदाको दिन गाडी चलाउन पूर्णरुपले निषेध गर्नुपर्ने लगायतका सुझाव पत्रमा उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अत्यधिक वृद्धि भई सो बमोजिम नेपालमा मूल्य समायोजन हुन नसक्दा मासिक नोक्सानी जुलाई १, २०२२ को मूल्य बमोजिम करिब १० अर्बभन्दा बढी रहेको भन्दै निगमले भारतीय आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम समेत २२ अर्बबाट बढेर जुलाई ८,२०२२ देखि झण्डै ३० अर्ब पुग्ने पत्रमा उल्लेख छ।
यस्तै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्ने तथा सार्वजनिक निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोक्न सरकारलाई प्रस्ताव गरिएको छ । निगमले छोटा दूरीमा सवारी साधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न, ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधन पूर्ण क्षमतामा चलाउन, मोटरसाइकल, कार तथा सरकारी सवारी साधनमा सहमतिअनुरुप यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ ।

