काठमाडौंं । बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अगाडि बढेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएका छन्।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा सीटीस्क्यान खरिदमा मुछिएका छन् । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने मन्त्री लामा र सोही जिल्ला घर भएका ह्याम्स अस्पतालका संचालक रामशरण भण्डारीको सेटिङमा बागमती प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रको सीटीस्क्यान मेसिन खरिदमा सेटिङ गरी ७ करोड बढी कबोल गर्ने कम्पनीलाई दिने प्रक्रिया अगाडि बढाइएको छ । प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रले ५ वटा सीटीस्क्यान मेसिन खरिद गर्ने टेण्डर गरेको थियो । जसमा ७ करोड बढी कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्रालि र भण्डारी सर्जिकललाई दिनका लागि स्पेसिफिकेसन बनाउँदादेखि नै चलखेल भएको छ ।
प्रदेश आपूर्ति केन्द्रका निमित्त निर्देशक डा अर्जुन सापकोटाले भने अस्पतालहरुको माग अनुसार नै सिटी स्क्यान खरिदका लागि प्रक्रिया अघि बढाइएको बताए ।भक्तपुर अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताल, त्रिशुली अस्पताल सबैमा सिटी स्क्यान मेसिन चलाउने जनशक्ति रहेको उनको दाबी छ। यस्तै सिटी स्क्यान राख्ने भवन नभएका अस्पताललाई भौतिक पूर्वाधार बनाउने बजेट पनि राखिएको डा सापकोटाले बताए। सिटी स्क्यान सञ्चालन गर्ने जनशक्ति नभएका अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले जनशक्ति पदपूर्ति गर्न आवेदन खुलाएको डा सापकोटाले बताए।
प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन थन्काएर राख्न नपर्ने दाबी समेत उनले गरे। आर्थिक चलखेलका लागि मेसिन खरिद गर्न लागिएको कुरा गतल भएको उनको भनाइ छ। ‘सिटी स्क्यान मेसिन कमिसनका लागि खरिद गर्न लागिएको आरोप गलत आरोप हो,’ उनले भने। निर्देशक सापकोटाले व्यापारिसँग मिलेमतोमा गरेको उक्त सेटिङमा नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीको मिलेमतो रहेको स्रोत बताउँछ।
मेडट्रोनिक्स नेपाल प्रालीका सञ्चालकसँग काठमाडौंको एक होटलमा बसेर निर्देशक सापकोटाले सिटी स्क्यानका लागि सेटिङ मिलाएका थिए। सुरुमा ३२ करोडमा पाँच वटा सिटी स्क्यान मेसिन किन्ने गरी बजेटको व्यवस्था गरिए पनि कमिसनकै लागि उक्त बजेट बढाएर ३६ करोड ६४ लाख भन्दा बढी पुर्याइएको हो।
निर्देशक सापकोटाले नेता बानियाँकै नाम लिएर पाँचवटा सिटी स्क्यान मेसिन खरिदमा कम रकम कबोल गर्नेलाई खरिदको जिम्मा नदिएर ७ करोड बढी रकम कबोल गर्ने कम्पनीलाई खरिदको जिम्मा दिएका छन्।
पाँच वटा सिटी स्क्यान खरिदका लागि क्यापिटल इन्टरप्राइजेजले सबैभन्दा कम रकम कबोल गरेको थियो। उक्त कम्पनीले २३ लाख ७३ हजार डलर अर्थात २९ करोड ६६ लाख २५ हजार रुपैयाँमा उपकरण उपलब्ध गराउने गरी बोलपत्रमा कबोल गरेको थियो।
तर केन्द्रले उक्त रकमभन्दा झण्डै सात करोड बढी रकम कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्राली र भण्डारी सर्जिकलको संयुक्त रुपमा हालेको टेण्डरलाई दिने निर्णय गरेको छ। उनीहरुले सिटी स्क्यानका लागि ३६ करोड ६४ लाख रुपैयाँ कबोल गरेका छन्।
मेडट्रोनिक्स नेपाल प्रालि धिरज थपलियाको हो भने भण्डारी सर्जिकल रामशरण भण्डारीको हो । सिटीस्क्यान खरिदका लागि मन्त्री लामासँग होटलमा राखी सेटिङ गराउने बिचौलियाको काम ओम सर्जिकलदेखि ह्याम्स अस्पतालका संचालक रामशरण भण्डारीले गरेको स्रोतले बताएको छ । धिरज थपलियाको मेडट्रोनिक्स नेपाल प्रालि तोसिबा ब्रान्डका स्वास्थ्य उपकरण नेपालमा ल्याउने एजेन्ट हो ।
त्यही तोसिबा ब्रान्डको सिटीस्क्यान मेसिन खरिदका लागि थपलियालाई मन्त्री लामासँग राख्ने काम भण्डारीले गरेका हुन् । भण्डारी र थपलियासँग सेटिङ गरिसकेपछि मन्त्री लामाले बागमती प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक अर्जुन सापकोटालाई बोलाएर मेडट्रोनिक्स नेपाल प्रालिको सीटीस्क्यान खरिदका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
जागिर नै संकटमा पर्ने धम्कीपछि सापकोटाले मन्त्री लामाको आसय अनुसार नै मेडट्रोनिक्स नेपालको सीटीस्क्यान मेसिनसँग मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाउन बाध्य भएका थिए । उक्त स्पेसिफिकेसन मन्त्री लामाले निवासमै बोलाएर हेरेपछि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए । ब्यापारी भण्डारीको सेटिङमा मन्त्री लामाले ७ करोड बढी कबोल गर्ने मेडट्रोनिक्स नेपाललाई सीटीस्क्यान खरिदको लागि प्रक्रिया अगाडि बढाउन लगाएका छन् ।
सीटीस्क्यान खरिदमा सिन्धुपाल्चोककै ब्यापारी रामशरण भण्डारीसँग मिलेर सेटिङ गरी ७ करोड बढी कबोल गर्ने कम्पनीलाई दिन लागिएकोारेमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भने–सीटीस्क्यान खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता छैन, यो काम सबै आपूर्ति ब्यवस्थापन केन्द्रको उतै सोध्नुस् भनेर फोन सम्पर्क बिच्छेद गरे ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १२८ स्लाइस क्षमताको पाँच वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाउँदा नै मेडट्रोनिक्सका सञ्चालकसँग मिलेर स्पेसिफिकेसन बनाएका थिए। सो क्रममा केन्द्रका निर्देशक हेटौँडाबाट काठमाडौं आउँदै काठमाडौंको होटलमा बसेर सेटिङ गरेका थिए।केन्द्रले १२८ क्षमताको पाँच वटा सिटी स्क्यान मेसिनका लागि सुरुमा ३२ करोड लागत अनुमान गरेको थियो। प्राप्त विवरण अनुसार केन्द्रले उक्त बजेटमा मिलेमतोमा मेडट्रोनिक्सका सञ्चालकसँग बसेर सिटी स्क्यानका लागि आफू अनुकुलका शर्तहरु राखेर स्पेसिफिकेसन बनाएका थिए।उनीहरुले तोसिबा कम्पनीको सिटी स्क्यान मेसिनलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको थिए।
उक्त विषयमा समाचार प्रकाशित भएपछि उनीहरुले मिलेमतोमै केही शर्तहरु परिवर्तन गरेका थिए। तर, सो क्रममा पनि मेडट्रोनिक्सकै सञ्चालकको भनाई अनुसार बायोमेडिकल इन्जिनिरयर राजेश्वर कमलीसँग मिलेर स्पेसिफिकेसन बनाएका हुन्।
मिलेमतोका विषयमा समाचार प्रकाशित भएपछि प्रदेशले छानबिन समिति समेत बनाएको थियो। तर, उक्त समितिले कामै नगरी इन्द्र बानियाँको आदेशका भरमा प्रक्रिया सबै मिलेको प्रतिवेदन बनाएको थियो।
‘खरिदका विषयमा प्रश्न उठेपछि छानबिन समितिसमेत बनेको थियो। तर समितिले काम नै गर्न पाएन।

