मकवानपुर । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहीबारसम्म असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् ।

बाग्मती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले –आफ्ना सांसदको हस्ताक्षर संकलन तयारी हो ।
मओवादी र कांग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् । पछिल्लो समय उनले ‘केन्द्रको आदेशबिना सरकार नछोड्ने’ अडान राख्दै आएका थिए ।
माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारीसमेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार भएका हुन् । सरकार छाड्नैपर्ने अवस्था आएपछि उनले संसदीय दल बैठक बोलाएका छन् ।
आज शनिबार बस्नेगरी पार्टीले बैठक बोलाएको नेकपा एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिइन् । ‘गठबन्धनभित्र सरकार फेरबदल विषयमा छलफल हुनेछ, अब बन्ने सरकारमा हाम्रा कति जना मन्त्री रहने भन्ने’तर छलफल हुन बाँकी छ,’ सिग्देलले भनिन्, ‘हामीले संसदीय दल बैठक बस्ने तयारी गरेका हौं ।’
