काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।शुक्रबार चौधरीले पत्रकारहरुसँग कुरा गर्दै आफू अब समानुपातिक नभई प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन् ।

उनले पत्रकारहरुसँगको कुराकानीमा भने, ‘ अब समानुपातिक बस्न मेरो रुचि छैन। कति समानुपातिकमा बस्ने ? टिकट कहाँ दिने पार्टीले निर्णय गर्ने हो। म प्रत्यक्ष चुनाव लड्छु।’
केन्द्रीय सदस्य चौधरीले आफ्नो रगतको कणकणमा अर्थतन्त्र भए पनि प्राथमिकता भने अब पूर्णकालीन राजनीतिमा भएको सुनाए । उनले भने, ‘
मेरो रगतको कणकणमा अर्थतन्त्र छ। तर प्राथमिकता भनेको राजनीति नै हो। म अब पूर्णकालीन राजनीतिमा लाग्छु। उधोग धन्दा छोडेर भने होइन ।’
उनले स्थानीय तह निर्वाचनमा आफू वडा, गाउँ, पहाड पुगेको स्मरण गर्दै अब आफू राजनीतिमार्फत यसमै रमाउन चाहेको बताए ।उनले भने, ‘२०७४ को चुनावमा हेलिकप्टरमा लैजाथ्ने, भाषण गर्थे, चर्चित फेसको रुपमा बोलाउथे, लैजान्थे । अहिलेको जस्तो अनुभव त्यो बेला गर्न पाएन। जीवन भर कांग्रेसमा रहन्छु। कांग्रेसमा बस्ने स्थिति नभए मात्रै राजनीतिबाट विश्राम लिएर बस्छु।’

