काठमाडौँ । आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आज (आइतबार) सुनुवाइ हुँदैछ । सरकारले वैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ शुरु भएको हो ।

उक्त दिन बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ । बहस गर्ने अधिवक्ता धेरै हुँदा आज पनि फैसला हुने सम्भावना कम रहेको स्रोतले बताएको छ ।
यसअघि ३० गते तीन डीआईजीको तर्फबाट भने बहस सकिएको छ । यो रिट पनि लगाउमा राखिएकाले सँगै फैसला हुनेछ । सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन् ।
आफूलाई मात्रै बरिष्ठ बताउँदै आएका एआइजी पोखरेलको बढुवा नै शंकाष्पद र विवादित छ । नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए । उनी १ नं मा भर्ना हुँदा पोखरेल ८ नं मा थिए। २०६२ साउन ११ मा प्रहरी नायव उपरीक्षकमा बढुवा हुँदा सिंह १ नं मा र पोखरेल २४ नं मा थिए। एसपीमा २०६९ माघ ११ मा सिंह १ नं मा र पोखरेल ७ नं मा बढुवा भएका थिए ।
१ नम्बरमा थिए हाल आइजीपी धिरज प्रताप सिंह । उनै सिंहभन्दा आफू सिनियर रहेको उनको सर्वोच्च अदालतमा दाबी छ । तर, उनको दाबी नै शंकाको घेरामा छ ।
सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन् । २४ गते नै उनको बिदा सकिएको हो । वैशाख १९ देखि बिदामा थिए । बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन् ।

