काठमाडौं । सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका तल्लो तहका कर्मचारीहरू सबैभन्दा धेरै मर्कामा परेको गुनासोहरू समय–समयमा आइरहेका हुन्छन् ।

माथिल्लो तहका अधिकारीहरूले राजनीतिक तथा गैरराजनीतिक पहुँच पुर्याएर आफ्नो काम गरिरहेका हुन्छन् । तल्लो तहका कर्मचारीलाई नयाँ संगठन प्रमुख आउँदा जति खुशी हुन्छन्, तल्लो तहका कर्मचारी त्यति नै दुःखी हुन्छन् ।
अझ सशस्त्र प्रहरी बलका तल्लो तहका कर्मचारीहरू मर्कामा परेको गुनासो धेरै सुनिने गरेका थिए । त्यसैलाई मध्यनजर गरेर नयाँ संगठन प्रमुखका रूपमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल आएपछि तल्लो तहका कर्मचारीलाई विना पहुँच आफ्नो काम गर्नका लागि गुनासो शाखा सक्रिय बनाएर त्यसलाई वेबसाइटको माध्यमबाट समाधान गर्ने प्रयास गरेका छन् ।

आईजीपीको सचिवालयमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) संगम श्रेष्ठको कमाण्डमा त्यो शाखा छ । सशस्त्र प्रहरी बलको बेवसाइटमा गुनासो सुन्ने पोर्टल बनाइएको छ । जसमा सशस्त्र प्रहरीका कर्मचारीले आफूलाई परेको समस्याहरू पठाउन सक्छन् । सर्वसाधारणले पनि सुझाव तथा कर्मचारीबाट भएको असुविधा लगायतका गुनासा पठाउन सक्छन् । त्यसलाई सम्बोधन गरेर समितिले आईजीपीको निर्देशनमा गुनासो सम्बोधन गर्छ ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार तल्लो तहका कर्मचारीले आफूलाई घर पायक सरुवा गरिदिन, पतिपत्नीलाई एकै ठाउँमा सरुवा गरिदिन भन्दै अनुराेध गर्ने गरेका छन् ।
त्यसबाहेक आफूलाई परेका हरेक समस्या बेवसाइटबाट पठाउन सक्ने डीआईजी खड्काले बताए । ‘वेबसाइटमा सशस्त्र कर्मचारी लगायत पब्लिकले पनि गुनासो र सुझाव पठाउन सक्नुहुन्छ,’ प्रवक्ता खड्काले भने, ‘तल्लो तहका कर्मचारीले विना पहुँच सजिलै आफ्नो अप्ठ्यारो समाधान गरेका छन् ।’
सर्वसाधारणले सशस्त्र प्रहरीमा भर्नाका लागि खुल्ने समय, त्यस क्रममा हुने समस्या लगायतका सुझाव पठाउने गरेका छन् । त्यसलाई सचिवालयमा रहेको समितिले तत्कालै यथोचित समस्या समाधान गर्ने गर्छ ।
सशस्त्रको प्रधान कार्यालयमा आउने कमचारीलाई गाडीको सुविधा
सशस्त्र प्रहरीले प्रधान कार्यालयमा काम परेर आउने कर्मचारी र पूर्व कर्मचारीलाई गाडीको व्यवस्था गरेको छ । सशस्त्र प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार आईजीपी राजु अर्यालको निर्देशनमा प्रधान कार्यालयमा बाहिरबाट आउने सेवा अवकाश भएका कर्मचारीलाई सहयोग गर्नका लागि गाडी राखिएको छ ।
त्यो गाडीले सञ्चय कोष, नागरिक लगानी कोष लगायत सरकारी काममा जाने कर्मचारीलाई पु¥याउने÷ल्याउने गर्छ । हेप्प डेस्कमा ५/५ जनाको २ टोली राखिएको छ ।
अस्पतालमा सेवाग्राहीको सहयोगका लागि ‘हेल्प डेस्क’

सशस्त्र प्रहरी अस्पताल बलम्बु लगायत सशस्त्रका अस्पतालमा पनि हेल्प डेस्क राखिएको छ । त्यो हेल्प डेस्कले अस्पतालका डाक्टरहरूसँग सेवा लिन आउने सशस्त्र कर्मचारी र सर्वसारणलाई भेटाउने काम गर्छ । अस्पतालमा बिरामीले समयमा औषधि पाएका छन् कि छैनन् ? डाक्टरले बिरामीलाई भेटेका छन् की छैनन् ? यी कुरा पनि हेर्छ ।
कसैलाई समस्या परेको खण्डमा यथोचित समस्या समाधान गर्ने गरिएको डीआईजी विदुर खड्काले बताए ।
‘अस्पतालमा आउने सर्वसाधारण, कर्मचारी बिरामी, आफन्तहरू र डाक्टरबीच पुलको काम गर्छ,’ खड्काले भने, ‘त्यति मात्र होइन, औषधिहरू बिरामीले समयमा पाएका छन् कि छैनन् भन्ने विषय पनि हेर्छ ।’

















