काठमाडौं । २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप भएका कारण प्रहरी महानिरीक्षक नियुक्तिमा पटक–पटक मुद्दा पर्ने गरेको छ । नेपाल प्रहरीजस्तो अनुशासित संगठनमा नेतृ्त्वका लागि मुद्दा परिरहनु राम्रो कुरा होइन । यसले संगठनभित्र गुटबन्दी खडा गर्छ । नेपाल प्रहरीमा बढ्दो राजनीतिक हस्तक्षेप रोक्न गृह प्रशासनले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह विगतमा यस्तै राजनीतिक कुचक्रमा फसेका थिए । सुरुदेखि वरिष्ठता र दक्षता हासिल गर्दै आएका सिंहलाई महानिरीक्षक बन्नबाट रोक्न तत्कालीन एमाले सरकारले विश्व पोखरेललाई ‘चोरबाटो’बाट डिआइजीमा बढुवा गरेको थियो । त्यतिबेला पनि पोखरेलको बढुवालाई लिएर व्यापक विरोध भएको थियो । अहिले डिआइजी बढुवाको त्यही रिपोर्ट लिएर उनी वरिष्ठताको दाबी लिएर सर्वोच्च धाइरहेका छन् ।
नेपाल प्रहरीमा आइजिपी विवादको मुद्दा सर्वोच्चमा चलिरहेको छ । एआइजी बढुवाको विषयमा पनि सँगै सुनुवाई हुँदै छ । मुद्दा लड्दै संगठन चलाउनुपर्ने कठिनाइ प्रहरी महानिरीक्षक सिहंलाई छ ।

















