काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले लागू औषध विरुद्ध कठोर कदम उठाएको छ । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको रुपमा जिम्मेवारी सम्हालेसँगै सिंहले लागुऔषध विरुद्ध कठोर कदम चालेको हो ।

लागुऔषध ओसार र प्रयोगकर्ताहरुलाई नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले देश भरी अभियान नै संचालन गरेका छन् । अभियानसँगै छोटो समयमा लागुऔषधसम्बन्धी अनुसन्धानमा नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो सफलता पाएको छ । प्रहरीले २४ किलोग्राम सेतो हेरोइनसहित तीन दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले आइतबार र सोमबार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ केजी सेतो हेरोइन बरामद गरेको हो । आइतबार १६ केजी तथा सोमबार ८ केजी हेरोइन बरामद भएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ पर्ने तीनैजना दक्षिण अफ्रिकाका नागरिक हुन् । आइतबार मुरिल नसाम्बा र थान डेकिले सिबिसीलाई १६ केजी हेरोइनसहित एनसिबीको टोलीले पक्राउ गरेको हो । उनीहरू दुवैजना दुबई विमानस्थल हुँदै नेपाल आएका थिए ।
त्यस्तै, सोमबार दिउँसो दक्षिण अफ्रिकी नागरिक खानिसिली थभोनी थाबालालालाई आठ केजी हेरोइनसहित पक्राउ गरेको छ । भन्सार जाँचबाट बाहिरिसकेपछि शंका लागेर थप चेक गर्दा उनले बोकेको ह्यान्डब्यागमा कालो र्यापिङ गरेको प्लास्टिकभित्र हेरोइन बरामद भएको विमानस्थलका एक प्रहरी अधिकारीले बताए । दुई दिनमा बरामद हेरोइनको मूल्य करिब ५० करोड रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी बताउँछन् । सेतो हेरोइन प्रतिकलो करिब दुई करोडमा कारोबार हुने गरेको छ ।
नेपाल प्रहरीले अहिलेसम्म एकैपटक यति धेरै हेरोइन बरामद गरेको थिएन । यसअघि गत वैशाखको पहिलो साता सात केजी हेरोइनसहित ब्युरोले जाम्बियन र भारतीयलाई पक्राउ गरेको थियो । उनीहरूबाट सात केजी हेरोइन बरामद भएको थियो । यसअघि सबैभन्दा धेरै बरामद हेरोइन त्यही थियो ।
अहिले बरामद लागुऔषध दक्षिण अफ्रिकाबाट आएको र यसको गिरोहका नाइके एकै व्यक्ति भएको आशंका गरिएको छ । लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारीले दशकौँदेखि नेपाललाई तस्करीको ट्रान्जिट बनाउँदै आएका छन् । नेपालमा पक्राउ परे पनि कम सजाय हुने र विमानस्थलको सुरक्षा जाँच अन्य देशमा भन्दा फितलो हुने आकलनमा नेपाललाई ट्रान्जिट बनाउने गरिएको छ । नेपालमा लागुऔषधसम्बन्धी मुद्दामा अधिकतम १५ वर्ष कैद सजाय हुन्छ । कतिपय देशमा मृत्युदण्डसम्मको सजाय छ ।
नेपालमा हेरोइन सेवन गर्ने लागुऔषध दुर्व्यसनी थोरै भएकाले बरामद लागुऔषध भारत तस्करी गर्न लागिएको हुन सक्ने प्रहरी आशंका छ । विस्तृत अनुसन्धान भइरहेकाले तीन अफ्रिकी नागरिक पक्राउसम्बन्धी विवरणलाई प्रहरीले गोप्य राखेको छ ।
युवा उमेरमा जोखिम
लागुऔषधको र्दुब्यसनमा युवायुवती बढी जोखिममा रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार किशोरावस्थामा नै कुलतमा फस्ने गरेका छन् । काठमाडौं , पोखरा , धरान , झापा , कंचनपुर , नवलपरासी लगायतका शहरी क्षेत्रमा युवायुवती बढी र्दुब्यसनमा फसेको पाइएको छ ।
साथीसंगत र बेराजगारका साथै देखासेखी गर्ने प्रवृत्तिका कारण पनि युवापुस्ता जोखिममा रहेको प्रहरी महानिरीक्षक सिंहले बताए ।
लागु औषध सेवनबाट कस्तो असरहरु देखा पर्छ ?
लागु पदार्थको कुलतमा फस्ने व्यक्तिहरु एकान्त वस्न मन पराउने, नियमित कृयाकलाप बाट भाग्न खोज्ने, कारणविना रिसाइरहने, दैनिक कार्यमा विनासुचना अनुपस्थित भैरहनु, राम्रो कुरा सुन्न नचाहने, पैसाको हिसाब किताब नदेखाउनु, पैसा सामान चोरी हुदै जानु, कम वोल्ने, झुटो बोल्ने,आखाँ जुधाएर कुरा नगर्ने जस्ता असरहरु देखा पर्ने चिकित्सकहरुको भनाई छ ।
यसका जोखिमहरु
लागुऔषध प्रयोग कर्ताहरुमा मानसिक रोगको प्रभाब पर्ने, आत्तिने, मतिभ्रम हुने, कुपोषण जस्तो देखिने, तौल घट्दै जाने,स्मरण शक्ति कम हुदैं जाने महिलामा महिनावारी गडबढ हुने, ग्यास्टीक, अल्सर जस्ता रोग लाग्ने, क्षयरोग एचआइभी., एड्स तथा हेपटाइटिस जस्तो रोग लागेर मृत्यु समेत हुन सक्ने जनाइएको छ ।
कसरी बच्न र बचाउन सकिन्छ ?
छोराछोरीको स्कूलले समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरको जानकारी राख्नु पर्ने नेपाल प्रहरीले जनाएको छ । बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने, लागु पदार्थ दुव्र्यसेवनमा लागिसकेका लाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने व्यबस्था गर्ने,लागु पदार्थको कारोबारीलाई कानुनको कठघरामा उभ्याउन नागरिक समाजलाई सकृय बनाउनु पर्ने प्रहरीको भनाई छ ।

