वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा ल्याउँदै गरेको कछुवासहित एकजनालाइ पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा गाउँको बाटो हुँदै भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा १ सय १३ ओटा कछुवासहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको टोलीले बिआर ०५ एएफ ०५८३ नम्बरको डिस्कभर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याइएको कछुवा फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
कछुवासहित बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षीय आनन्दलाल टेमानीलाई नियन्त्रणमा लिइएको छ । कछुवालाई डिभिजन बन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको छ भने टेमानीविरुद्ध वन्यजन्तु संरक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

