काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका अमेरिका भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालले गम्भीर आपत्ति जनाएको छ । देउवा प्रधानमन्त्रीका हैसियतमा अमेरिका जान लागेको हो कि रक्षामन्त्रीको हैसियतमा भनेर एमाले नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा कुरा उठाएका छन् ।

आइतबारको संसद बैठकमा बोल्दै नेता ज्ञवालीले प्रम देउवा कुन हैसियतमा अमेरिका भ्रमणमा जान लागेको हो, सोबारे संसद्मा प्रस्ट जानकारी दिनुपर्ने माग गरेका छन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण सैन्य क्षेत्रबाट हुन लागेको आशंका गर्दै गर्दै यसबारे प्रस्ट पार्न माग गरेका हुन् ।
देउवाको अमेरिका भ्रमण राजनीतिक तवरबाट दुवै देशका परराष्ट्र सम्बन्धसँग सम्बन्धित निकाय सक्रिय नभएको र रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएको आशंका व्यक्त गरेका हुन् । उनले उक्त भ्रमणको व्यवस्थापनमा न त अमेरिकाको स्टेट डिपर्टमेन्ट न नेपालको परराष्ट्र मन्त्रालय अगाडि देखिएको भन्दै बरु सैन्य निकायले उक्त चाँजोपाजो गरिरहेको आरोप लगाए ।
‘यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो या रक्षामन्त्रीको हैसियतले ? यस विषयमा सदनलाई जानकारी दिनु जरुरी छ,’ उनले भने । उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाइनु नहुने समेत बताएका छन् ।
